समानुपातिक प्रतिनिधित्वको वकालत गर्ने माओवादीले नै उठाएन महिला उमेद्वार

समानुपातिक प्रतिनिधित्वको वकालत गर्ने माओवादीले नै उठाएन महिला उमेद्वार

कात्तिक १७ ।  संविधानमा आरक्षण सिटमध्ये ३३ प्रतिशत महिला र ११ प्रतिशत दलित हुनुपर्ने व्यवस्था छ । तर, राजनीतिमा समानुपातिक प्रतिनिधित्वको सबैभन्दा बढी वकालत गर्ने माओवादी केन्द्रले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा दलित र महिलालाई त्यति धेरै प्राथकिमता दिएको छैन । माओवादीले प्रतिनिधिसभा निर्वाचनमा आरक्षण सिटलाई बेवास्ता गर्दै दलित र महिलाको संख्या न्यून उठाएको छ ।

पहिलो चरणको प्रतिनिधिसभा निर्वाचनमा माओवादीबाट दलित उम्मेदवार शून्य छ । दोस्रो चरणमा हुने प्रतिनिधिसभा निर्वाचनमा सिरहा २ बाट सुरेशचन्द्र दासलाई उठाएको छ । पहिलो चरणको प्रतिनिधिसभा निर्वाचनमा माओवादीले कमला रोकालाई मात्र महिला उम्मेदवार बनाएको छ । उनलाई पूर्वी रुकुमबाट प्रतिनिधिसभा निर्वाचनमा उठाइएको थियो ।

दोस्रो चरणको प्रतिनिधिसभा निर्वाचनमा माओवादीबाट तीनजना महिला उम्मेदवार बनेका छन् । ललितपुर ३ बाट पम्फा भुसाल, पर्सा ४ बाट उर्मिला अर्याल र कञ्चनपुर १ बाट विना मगर प्रत्यक्षमा उम्मेदवार बनेका छन् ।

प्रदेश सभामा पनि दलित र महिलाको सहभागिता निराशाजनक
प्रदेश सभामा माओवादीबाट दलित दुईजना उम्मेदवार बनेका छन् । पहिलो चरणमा माओवादीले पश्चिम रुकुम (ख)बाट रातु कामीलाई प्रत्यक्षमा उठाएको छ । दोस्रो चरणमा हुने निर्वाचनमा काठमाडौं ३ बाट रुद्र बराइलीलाई उम्मेदवार बनाएको छ ।

दलितको तुलनामा प्रदेश सभामा महिला सहभागिता धेरै छ । पहिलो चरणमा माओवादीले गोरखा २ (क) बाट कमला नहर्की, नुवाकोट १ (क) बाट राधिका तामाङ र बझाङ (ख)बाट देवकी मल्ल उम्मेदवार बनेका थिए ।

दोस्रो चरणको प्रदेश सभामा माओवादीबाट सातजना महिलाले टिकट पाएका छन् । जसमा उदयपुर २ (क) बाट भेषकुमारी राउत, मोरङ ३ (क) बाट गीता तिमल्सिना, बारा ३ (क) बाट ज्वालाकुमारी साह र मकवानपुर २ (क) बाट कुमारी मोक्तान छन् । यसैगरी, ललितपुर १ (क) बाट लालकुमारी पुन, तनहुँ २ (क) बाट आशा कोइराला र बाँके २ (क) कमता खटिक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्