आफैलाई मतदान गर्न नपाउने उम्मेदवार

आफैलाई मतदान गर्न नपाउने उम्मेदवार

नारायण काफ्ले, काठमाडौँ, कात्तिक १९ गते ।  संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दुई निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिन पाइँदैन ।  यसअघि दुई स्थानबाट उम्मेदवारी दिने अधिकांश शीर्ष नेताले यस पटक एक निर्वाचन क्षेत्रबाट मात्रै उम्मेदवारी दिएका छन् ।
कतिपय नेता आफ्नो गृह जिल्ला र क्षेत्रभन्दा बाहिरबाट चुनावमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ  ।  निर्वाचन क्षेत्रबाट बाहिर गएर स्पर्धा गर्ने उम्मेदवारले भने आफ्ना लागि आफ्नो मत प्रयोग गर्न पाउनुहुन्न ।  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली गएको स्थानीय निर्वाचनअघि सधैँ झापामा मतदाता हुनुहुन्थ्यो ।  स्थानीय निर्वाचनअघि उहाँले मतदाता नामावली भक्तपुरमा सार्नुभएको हो ।  ओलीले सूर्यविनायक नगरपालिकामा मतदाता नामावली सार्नुभएको छ ।  तर, ओली झापा ५ बाट चुनावी मैदानमा हुनुहुन्छ ।  उहाँले यस पटक आफैले आफैलाई मत दिन पाउनुहुन्न ।
एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल रौतहटको गौर नगरपालिकामा मतदाता हुनुहुन्छ ।  तर, उहाँ पनि काठमाडौँ २ बाट उम्मेदवार हुनुहुन्छ ।  नेता नेपालले पनि प्रतिनिधिसभा निर्वाचनमा आफैँलाई मत दिन नपाउने नेतामा पर्नुहुन्छ ।
काठमाडौँ १ बाट निर्वाचनमा प्रतिस्पर्धा गर्न लाग्नुभएका नेकपा माओवादी केन्द्रका युवा नेता अनिल शर्माको मतदाता नामावली रुकुममा छ ।  तर, शर्मा काठमाडौँको चुनावी मैदानमा हुनुहुन्छ ।  शर्माले आफ्नो मतदाता नामावली गृह जिल्लामै कायम रहेको बताउनुभयो ।  उहाँले पनि आफूलाई मत दिन पाउनुहुन्न ।
काठमाडौँ २ का मतदाता रहनुभएका पूर्वसभामुख दमननाथ ढुङ्गाना यस पटक नेपाली काँग्रेसको तर्फबाट भक्तपुर २ मा चुनावी मैदानमा हुनुहुन्छ ।  ढुङ्गानाले पनि आफैलाई मत दिन पाउनु हुन्न ।  ढुङ्गाना दुई दशकपछि चुनावी मैदानमा हुनुहुन्छ ।

रोल्पा नगरपालिकामा मतदाता रहनुभएका माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा पनि दाङबाट चुनाव लड्दै हुनुहुन्छ ।  महराले पनि आफैलाई मतदान गर्न पाउनुहुन्न ।  महरा दाङ २ मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार हुनुहुन्छ ।  काठमाडौँ ६ का मतदाता रहनुभएका माओवादी केन्द्रका नेता हितमान शाक्य पनि अहिले काठमाडौँ १० को चुनावी मैदानमा हुनुहुन्छ ।
दोलखा बैत्यश्वर गाउँपालिकामा मतदाता रहनुभएका एमाले पोलिटब्युरो सदस्य पशुपति चौलागाईँ पनि यस पटक आफ्नो क्षेत्रमा उम्मेदवार हुनुहुन्न ।  चौलागाईँ यस पटक प्रदेशसभाको ‘ख’बाट चुनावी मैदानमा हुनुहुन्छ ।  उहाँ मतदाता रहेको बैत्यश्वर प्रदेशसभाको ‘क’मा पर्छ ।  उहाँले पनि आफूलाई मतदान गर्न पाउनुहुन्न ।
राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले स्थानीय चुनावमा मतदान गर्नुभएन ।  तर, उहाँको मतदाता नामावली सर्लाहीको बलरा नगरपालिकामा छ ।  ठाकुर यस पटक महोत्तरी ३ बाट चुनावमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।  सर्लाहीको चन्द्रनगर गाउँपालिकाका मतदाता रहनुभएका राजपा नेता राजेन्द्र महतो धनुषाबाट निर्वाचनमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।  महतो धनुषा २ मा काँग्रेसका विमलेन्द्र निधिसँग चुनावी मैदानमा हुनुहुन्छ ।  महतोले पनि आफैलाई मत दिन पाउनुहुन्न ।
एमाले सविच समेत रहनुभएका योगेश भट्टराई यस पटक काठमाडौँबाट ताप्लेजुङमा उम्मेदवार बन्नुभएको छ ।  काठमाडौँ ६ का मतदाता रहनुभएका भट्टराईले स्थानीय निर्वाचनमा डिल्लीबजार कन्या क्याम्पसबाट मतदान गर्नुभएको थियो ।  अहिलेसम्म उहाँको नामावली काठमाडौँमै छ ।
माओवादी केन्द्रका नेता देव गुरुङको मतदाता नामावली मनाङको नासोङ गाउँपालिकामा छ तर प्रतिनिधिसभामा गुरुङ लमजुङबाट काँग्रेसका दिलबहादुर घर्तीसँग प्रतिस्पर्धामा हुनुहुन्छ ।  गुरुङले पनि आफूले आफैलाई मत दिन पाउनुहुन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्