मोरङ–५ मा पनि रोचक प्रतिस्पर्धा , अमृत, शिव र राजकुमार बीच प्रतिस्पर्दा

मोरङ–५ मा पनि रोचक प्रतिस्पर्धा , अमृत, शिव र राजकुमार बीच प्रतिस्पर्दा

विराटनगर, रासस । निर्वाचनको तिथि नजकिन थालेपछि मोरङमा चुनावी सरगर्मी बढेको छ ।

छ वटा संसदीय क्षेत्र भएको मोरङमा क्षेत्र नं ५ को चुनावी प्रचार–प्रसार विकास निर्माणका साथै संविधान संशोधनको विषयमा बढी केन्द्रित भएका छन् ।

यस क्षेत्रमा सबैभन्दा बढी मधेशी मतदाताको सङ्ख्या भएकाले प्राय सबै उम्मेदवारले संविधान संशोधनका विषयलाई प्रसार–प्रचारको मुख्य आधार बनाएर मतदातालाई आकर्षित पार्न तल्लीन देखिन्छन् । मोरङको राजनीतिमा राम्रो पकड राखेका युवा उम्मेदवारका साथै पञ्चायतको स्थापनाकालदेखि नै मोरङको राजनीतिमा सक्रिय रहेका वृद्ध उम्मेदवार पनि चुनावी प्रतिस्पर्धामा रहनुभएकाले निर्वाचन बढी रोचक हुने देखिएको छ ।

विसं २०६४ को संविधानसभाको निर्वाचनमा यस क्षेत्रबाट तत्कालीन मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका थिए । २०७० सालको संविधानसभा दोस्रो निर्वाचनमा उपेन्द्र यादव नेपाली कांग्रेसका उम्मेदवार अमृतकुमार अर्यालबाट पराजित भएका थिए । त्यसपछि यो क्षेत्रको चर्चा राष्ट्रव्यापी रुपमा भएको थियो ।

उपेन्द्र यादव मोरङबाट उम्मेदवारी मनोनयन नगरेको विषय पनि सर्वसाधारण मतदाताको बीचमा चर्चा परिचर्चा भइरहेका छन् । २०७० सालको निर्वाचनमा मोरङमा नौवटा संसदीय क्षेत्र थियो तर २०७४ सालको निर्वाचनमा मोरङ अब ६ वटा संसदीय क्षेत्रमा मात्र सीमित भएको छ । २०७० सालको संविधानसभा निर्वाचनमा तत्कालीन क्षेत्र नं ४ बाट नेकपा माओवादी केन्द्रबाट शिवकुमार मण्डल विजयी भएका थिए । उनी पुनः मोरङबाट निर्वाचित हुनका लागि वाम गठबन्धनका तर्फबाट क्षेत्र नं ५ बाट उठेका छन् । यसका साथै संघीय समाजवादी फोरम नेपालबाट राजकुमार यादव पनि चुनावी मैदानमा छन् ।

नेपाली कांग्रेसबाट अमृतकुमार अर्याल, वाम गठबन्धनबाट शिवकुमार मण्डल र संघीय समाजवादी फोरमबाट राजकुमार यादवबीच त्रिकोणात्मक संघर्ष हुने प्रबल सम्भावना देखिएको भए पनि मोरङको राजनीतिको पुरानो खेलाडी ७४ वर्षीय बद्रीप्रसाद मण्डल राष्ट्रिय जनता पार्टीका तर्फबाट उम्मेदवार भएकाले निर्वाचन रोचक बनेको छ । यसका साथै सातजना उम्मेदवार रहेको सो क्षेत्रबाट देशभक्त जनगणतान्त्रिक मोर्चाबाट अमोद इमजन, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीबाट कुर्वान मियाँ र स्वतन्त्र उम्मेदवारका रुपमा अनिताकुमारी ढकालछन् । उनीहरु पनि चुनावी मैदानमा जोडतोडका साथ प्रचारप्रसार जुटेका छन् ।
यस क्षेत्रमा कूल ८९ हजार २८७ मतदाता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्