एक भोट खसाल्न ४ हजार खर्च , तिन दिनको यात्रा गर्नुपर्ने !!

एक भोट खसाल्न ४ हजार खर्च , तिन दिनको यात्रा गर्नुपर्ने !!

ताप्लेजुङ, मङ्सिर ८ गते ।   फक्ताङ्लुङ गाउँपालिकाको याङ्मा र गोला भारत र चीनको सिमानामा अवस्थित छन् ।  यी दुई ताप्लेजुङको अत्यन्त विकट स्थान हुन् ।  याङ्मा र ग्याब्लामा क्रमशः ५७ र ४९ जना मतदाता छन् ।
यहाँको एक मत सुरक्षित गर्न सुरक्षाकर्मीको खर्चबाहेक निर्वाचन आयोगले मात्र रु. चार हजारभन्दा बढी खर्च गर्नुपर्छ र  तीन दिनको एकतर्फी यात्रा गर्नुपर्ने बाध्यता छ ।
मुलुककै तेस्रो ठूलो जिल्लाको रूपमा रहेको ताप्लेजुङको आधा भूगोल यिनै दुई स्थानले ओगट्छ ।  कुनै पनि राजनीतिक दलका नेता भोट माग्न त्यहाँ पुग्न सक्दैनन् ।
यही मङ्सिर १० गते हुन गइरहेको निर्वाचनको प्रचारप्रसारका क्रममा प्रतिनिधिसभाका वाम गठबन्धनका साझा उम्मेदवार योगेश भट्टराईले ‘रेकर्ड’ गरेर आफ्ना योजना र अपिल जनतासमक्ष पठाउनुभयो ।  यो जिल्लाबाट एक जना मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचित हुनेछन् ।  प्रतिनिधिसभा सदस्यका लागि सात जना उम्मेदवार मैदानमा छन् ।  प्रदेश ‘क’ र ‘ख’ मा आठ÷आठ जना उम्मेदवार उठेका छन् ।
त्यसैगरी, नेपाली काँग्रेसका उम्मेदवार केशवप्रसाद दाहालले पनि रेकर्डमार्फत नै भोट माग्नुभयो ।  प्रदेश ‘ख’ मा पर्ने यी ठाउँमा कुनै उम्मेदवार पुग्न सकेनन् ।  उनीहरूले रेकर्डिङ पठाएर भोट मागे ।
फुङ्लिङका स्थानीय पत्रकारका अनुसार त्यहाँका मतदाता अन्यत्रै व्यवसायमा रहेकाले मत खसाल्न पनि कमै आउने गर्छन् ।  मतदाताको सङ्ख्याको तुलनामा आधा मात्र मत खस्ने गर्छ ।  काठमाडौँ र भारतका विभिन्न भागमा रहेर आफ्ना व्यवसाय गर्ने भएकाले उनीहरूलाई मतदान गर्न लगाउन पनि हेलिकोप्टरको व्यवस्था गर्नुपर्ने हुन्छ ।  मुलुकको सुदूरपूर्वको उत्तर छेउमा पर्ने यस जिल्लाका सबै स्थानका जनतालाई चुनावी अभियानमा सहभागी गराउन अत्यन्त कठिन भए पनि निर्वाचन आयोगले त्यहाँका जनताको मताधिकारलाई सम्मान गर्दै आएको छ ।
जिल्लाका कठिन र विकट स्थानमा निर्वाचन अधिकारी खटाएर भए पनि त्यस्ता विकट स्थानमा बसोबास गर्दै आएका बालिग मतदाताको मतदानलाई सुरक्षित गर्ने कर्तव्यलाई आयोगले ध्यान दिएको छ ।  यसपटक पनि निर्वाचन आयोगले मङ्गलबार नै त्यहाँका लागि निर्वाचन टोली पठाइसकेको छ ।
जिल्लाका प्रमुख निर्वाचन अधिकृत कृपाशुर कार्कीका अनुसार उक्त निर्वाचन क्षेत्रका लागि मतदान अधिकृत पठाइसकिएको छ ।  आवश्यक पर्ने सबै सामग्रीसहित निर्वाचन टोली बिहीबार त्यहाँ पुगेको छ ।  ती स्थानमा पुग्न सदरमुकामबाट तीन दिन लाग्छ ।  त्यहाँबाट मतपेटिका ल्याउन हेलिकोप्टर चार्टर गर्नुपर्ने भएकाले अत्यन्त खर्चिलो हुन्छ ।  जनताका मताधिकार सुरक्षा गर्न निर्वाचन आयोग कटिबद्ध रहेको मुख्य निर्वाचन अधिकृत कार्कीको भनाइ छ ।
निर्वाचन आयोगले यहाँका अतिविकट स्थानका एक हजार ३२१ मतदाताका लागि नगद रु. १५ लाख ८५ हजार, सुरक्षाकर्मीबाहेक ७३ जना कर्मचारी र तीन दिनको एकतर्फी यात्राको प्रबन्ध मिलाउनुपर्छ ।  मतदाताको मत सुरक्षित गर्ने दायित्व पूरा गर्न ठूलो रकम, जनशक्ति र समय खर्चेर थोरै मत सङ्कलन गर्नुपरेको यथार्थ निर्वाचन अधिकृत कार्की सुनाउनुहुन्छ ।
उहाँका अनुसार यसपटक फक्ताङ्लुङ गाउँपालिकाको ग्याब्लामा ४९ जना मतदाता छन् ।  उक्त निर्वाचन केन्द्रका लागि नौ जना कर्मचारी खटाइएको छ भने उनीहरूलाई रु. दुई लाख तीन हजार ७०० खर्च दिइएको छ ।  यस स्थानको एक मत सुरक्षित गर्न चार हजारभन्दा बढी पर्न गएको छ ।
यो निर्वाचन केन्द्रबाट स्थानीय तह निर्वाचनका बेला मत खसाल्न पाउने मतदाताको सङ्ख्या ४० रहेको थियो भने २९ मत मात्र खसेको थियो ।
त्यस्तै, फक्ताङ्लुङ गाउँपालिका– ७ को याङ्यामा आधारभूत विद्यालयमा ५७ जना मात्र मतदाता रहेका छन् ।  त्यस निर्वाचन केन्द्रका लागि निर्वाचन आयोगले नौ जना कर्मचारी खटाएको छ भने उनीहरूलाई रु. दुई लाख १७ हजार रकम दिइएको छ ।  यहाँ पनि प्रतिमत झण्डै चार हजार खर्च बेहोर्नुपर्छ ।
यहाँ स्थानीय तहको निर्वाचनमा मतदाताको सङ्ख्या ५५ रहेको थियो भने ३६ जनाले मात्र मतदान गरेका थिए ।  मुख्य निर्वाचन अधिकृत कार्की भन्नुहुन्छ, प्रजातन्त्रमा जनताको मत अमूल्य हुन्छ ।  फक्ताङलुङ–६ घुन्सा माध्यमिक विद्यालयमा १३१ मतदाता रहेका छन् ।  स्थानीय तह निर्वाचनमा १२६ मतदाता थिए तर ६६ जनाले मात्र मतदान गरेका थिए ।  अहिले रु. दुई लाख १६ हजार ६०० निर्वाचन खर्च दिएर नौ जना कर्मचारीलाई यहाँ खटाइएको छ ।
सिदिङ्वा–१ को कालीखोला निमाविमा यसपटकको निर्वाचनमा मतदाता सङ्ख्या १८४ रहेको छ ।  निर्वाचनका लागि रु. दुई लाख १२ हजार २०० खर्च दिएर नौ जना कर्मचारी पठाइएको छ ।  स्थानीय तह निर्वाचनका बेला यहाँ मतदाता सङ्ख्या १८१ र खसेको मत १५५ थियो ।
मिम्वाखोला गाउँपालिका– ५ को किलिङ माविमा अहिले मतदाता सङ्ख्या १९४ छ ।  स्थानीय तहको निर्वाचनमा १७० मतदाता भएकामा १०७ मत मात्र खसेको थियो ।  अहिले यस निर्वाचन केन्द्रमा नौ जना कर्मचारीलाई रु. एक लाख ६० हजार ७०० सहित पठाइएको  छ ।
यसैगरी, मेरिङ्देन गाउँपालिका–६ को चागा आधारभूत विद्यालयबाट मत खसाल्ने मतदाताको सङ्ख्या २१८ छन् ।  स्थानीय तह निर्वाचनका बेला मतदाता सङ्ख्या १८५ थियो र १३० मतमात्र खस्यो ।  त्यहाँ रु. एक लाख ४० हजारसहित नौ जनाको टोली पठाइएको छ ।  फक्ताङ्लुङ गाउँपालिकाकै ओलाङ्चुङ्गोलामा २२२ मतदाता छन् ।  स्थानीय तहको निर्वाचनमा त्यहाँको मतदाता सङ्ख्या २०१ मात्र थियो भने १३१ मत मात्र खसेको थियो ।  त्यहाँ अहिले रु. दुई लाख २० हजार २०० रकम सहित नौ जना कर्मचारी पठाइएको छ ।
त्यसैगरी, सिदिङ्मा गाउँपालिका–१, सिदिङ्मा आधारभूत विद्यालय तेङ्बो निर्वाचन केन्द्रमा २६४ मतदाता छन् ।  स्थानीय तह निर्वाचनमा मतदाताको सङ्ख्या २६६ थियो भने २०० मात्र मत खसेको थियो ।  यस पटक रु. दुई लाख १५ हजार ४०० रुकम दिएर १० जना कर्मचारीलाई त्यहाँ पठाइएको छ ।  सुरक्षाकर्मीको खर्च र हेलिकोप्टरमार्फत मतपेटिका ल्याउँदा त्यसको खर्च गृह मन्त्रालयले व्यहोर्ने भएकाले त्यो खर्च यसमा नजोडिएको प्रमुख निर्वाचन अधिकृतको कार्कीले जानकारी दिनुभयो ।
ग्याब्ला प्रावि, याङ्मा आधारभूत विद्यालय, घोन्सा मावि, वडा कार्यलय ओलाङ्चुङ्गोला अति दुर्गममा पर्ने भएकाले गत ४ गते नै निर्वाचन अधिकृतसहितको टोली त्यसतर्फ पठाइसकिएको छ ।  यस जिल्लाको कुल जनसङ्ख्या एक लाख ९१ हजार ८१७ रहेको छ भने कुल मतदाता ७९ हजार ३९७ जना छन् । -गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्