सरोज ढुङ्गेल
काठमाडौँ, मङ्सिर ९ गते । एक परिवारलाई वार्षिक ५० हजार रुपियाँसम्मको स्वास्थ्य बीमा उपलब्ध गराइरहेको सरकारले त्यसलाई बढाएर एकलाख रुपियाँ पु¥याउने तयारीमा जुटेको छ । उपचार खर्च धान्न नसक्ने भएपछि सरकारले त्यसलाई बढाएर एकलाख पु¥याउन लागेको हो ।
स्वास्थ्य बीमा ऐन संसद्बाट पारित भइसकेपछि नियमावलीको मस्यौदामा जुटेको सरकारले नियमावलीमा उक्त रकम बढाएर एक लाख रुपियाँ बनाउन लागेको हो ।
सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक डा. गुणराज लोहनीले स्वास्थ्य बीमाको उपचार सुविधा हालको भन्दा दोब्बर बढाएर एक लाख रुपियाँ पु¥याउने तयारी गरेको जानकारी दिँदै स्वास्थ्य बीमासम्बन्धी नियमावली आउने तयारीमा रहेको जानकारी गराउनुभयो । हाल पाँच जनासम्मको परिवार छ भने वार्षिक दुईहजार पाँच सय रुपियाँ तिरेपछि ५० हजार रुपियाँ सम्मको स्वास्थ्य उपचार सेवा पाउँदै आएका छन् ।
कार्यकारी निर्देशक डा. लोहनीले स्वास्थ्य बीमा नवीकरण गर्दा लाग्ने शुल्कमा समेत सहुलियत दिने तयारी भइरहेको बताउनुभयो । उहाँले कति प्रतिशत सहुलियत दिने भन्ने विषयमा अहिलेसम्म निष्कर्षमा पुग्न नसकिएपछि छलफलको चरणमा
रहेको बताउनुभयो ।
बीमा सम्वन्धी व्यवस्था गर्न बनेको विधेयक गत असोज २४ मा व्यवस्थापिका संसद्बाट पारित भएपछि कात्तिक १ गते राष्ट्रपतिबाट प्रमाणीकरण भएको थियो । जनतालाई गुणस्तरीय स्वास्थ्य उपचारमा सहज पहुँच पु¥याउन भन्दै सरकारले दुईवर्ष अघिबाट स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको हो ।
हालसम्म स्वास्थ्य बीमा कार्यक्रम २२ वटा जिल्लामा लागू भइसकेको छ । निर्देशक डा. लोहनीले नियमावलीमा बीमा गरेको तर उपचार सुविधा नलिएको व्यक्तिको नवीकरणपछि उपचार सुविधा लिने बेलामा केही सहुलियत थपिने
जानकारी पनि दिनुभयो ।
अहिलेसम्म बीमा कार्यक्रम लागू भएका जिल्लाहरू कैलाली, बाग्लुङ, इलाम, पाल्पा, कास्की, बैतडी, अछाम, म्याग्दी, चितवन, मकवानपुर, गोरखा, तनहुँ, जुम्ला, जाजरकोट, भक्तपुर, बर्दिया, सुर्खेत, रोल्पा, सिन्धुली, सोलुखुम्बु, सुनसरी र झापा छन् । निर्देशक डा. लोहनीले तीनवर्षभित्र सबै जिल्लामा लागू हुने बताउनुभयो ।