नौ बर्ष देखि पुलमुनी बस्दै आएका आमाछोरी, अाेरेकले गर्याे उद्धार

नौ बर्ष देखि पुलमुनी बस्दै आएका आमाछोरी, अाेरेकले गर्याे उद्धार

इन्दिरा भट्टराई
विराटनगर १८ मङ्सीर । करिव नौ बर्ष यता मोरङको कानेपोखरी ५ चिसाङ खोलाको पुलमुनी बसोवास गर्दै आएका आमाछोरीलाई आज उद्धार गरी विराटनगर ल्याइएको छ । आज महिला तथा वालवालिका कार्यालय मोरङ, ओरेक नेपाल , इन्सेक र सञ्चारकर्मीको सहकार्यमा उद्धार गरी विराटनगर ल्याइएको हो ।
आफ्नो घर नभएका ६० बर्षीया कुस्मी उराव र ३० बर्षीया छोरी दयावतीलाई विराटनगर स्थित ओरेकको सेफ हाउसमा राखिएको छ । विभिन्न दाताहरुको सहयोगमा सोही गाउमा घर बनाउने तयारी भइरहेकोले घर निर्माण पुरा नहुञ्जेल विराटनगरमा राखिने महिला तथा वालवालिका कार्यालय मोरङ प्रमुख दुर्गा बरालले बताउनुभयो । घर निर्माण हुञ्जेल सम्मको लागि दुबैजनालाई खान,बस्न, लत्ताकपडाको ब्यवस्था गर्ने ओरेक विराटनगर प्रमुख मौसम राइले बताउनुभयो ।
आफ्नो घर नभएको उराव परिवार सुन्दरहरैचामा अर्काको जमिनमा बस्दै आएको थियो । तर करिव दश बर्ष अधि श्रीमानको मृत्युपछी बेसाहरा भएका आमाछोरीले ओतको रुपमा पुलमुनीको ओढार भेट्टाए । कुस्मी र अपाङगता भएकी(बोल्न नसक्ने) दयावतीको घर पुलमुनीको ओढार र पेशा सालको पात र निगुरो ब्यापार भयो । दैनिक साथिहरुसंग जंगल जाने , पात र निगुरो टिपेर ल्याउने ब्यापार गर्ने उनिहरुको दिनचर्या हो । त्यही आम्दानीबाट उनिहरुले छाक टार्दै आएका थिए । अपाङगता भएकी छोरी संगै कष्टकर जिवन विताउदै आएकी कुस्मीको घर(ओढार)मा नत घेरावार छ , नत पानी विजुली नै । उनिहरुसंग पुलको छानो र दुखले जोडेको ओढ्ने ओछ्याउने मात्र छ । पतिको मृत्युपछि धेरै समय मागेरै आफ्नो जिवन विताएका उनिहरु त्यहा आएपछि भने पात र निगुरो टिपेर गुजारा गर्दै आएको छिमेकी दिलमाया राइले बताउनुभयो ।
आफ्नो नागरीकता भएपनि कुस्मीले छोरीको नागरीकता बनाउन सकेकी छैनन । कानेपोखरी ५ का बडा अध्यक्ष चरण गुरुङले दाताको सहयोगमा महिला वालवालिका कार्यालय मोरङले घर बनाए पछि सम्पुर्ण ब्यवस्था गरेर राखिने बताउनुभयो । घर निर्माणका लागि सोही गाउमा जमिन ब्यवस्था गरेर चाडै निर्माण कार्य सुरु गरिने समेत बडाअध्यक्ष गुरुङले बताउनुभयो ।
गाडी चढेपछि रोइन दयावती
विराटनगर ल्याउनका लागि टोली गाडी लिएर विहानै त्यहा पुग्दा आमाछोरी ओछ्यान मिलाउदै खाने ब्यवस्थापनमा लाग्न खोज्दै थिए । अब विराटनगर जाने र घर बनेपछि मात्र आउने भन्ने बुझेकी दयावतीले छिमेकी महिलाहरुलाई हातको इसाराले ‘म जाने राम्ररी बस्नु’ भनिन । खुसी मुद्रामा देखिएकी उनले आफ्नो लुगा कपडा र चप्पल तयार पारिन । त्यहाबाट विदा हुदै गर्दा गाउका सबैलाई हात हल्लाएर विदा मागिन् । धेरै बर्ष संगै विताएका उनिहरु हिड्दा छिमेकी दिलमाया राइले ‘अब सुन्ने हुने भो, दुख पाएका थिए अब दिन फर्किए’ भनेर विदा गरिन । गाउलेहरु संग मिलेर बसेका आमाछोरीलाई गाउलेहरुले धेरै सहयोग गरेका रहेछन । वाढी आउदा समस्या हुने भएकोले उनिहरु गाउलेकै घरमा वास बस्ने गर्दथे । विराटनगर तर्फ आउन गाडी चढेपछि दयावतीले झ्यालबाट हात हल्लाइन । गाउले धनबहादुर राइले तिनसय रुपैया निकालेर चिया खानु भन्दै दिए । अनि अन्य गाउलेले पनि पैसा दिए । त्यसबेला गाउ छोड्नुपरेको भन्दै दयावती रोइन । आमाको टाउकोमा बाधेको रुमालले आखा छोपेर धेरैबेर रोइन । सबैले घर बनेपछि आउनु, हामी भेट्न आउछौ भनेर विदा गरे । इमान्दार आमाछोरी भनेर चिनिएका उनिहरु हिड्नै लाग्द कुस्मीले पसलको पाच सय रुपैया उधारो सम्झीइन । बडा अध्यक्ष गुरुङले उधारो तिरिदिने बचन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्