यसपटकको निर्वाचन कतिपय ‘हेभिवेट’ नेता पराजित

यसपटकको निर्वाचन कतिपय ‘हेभिवेट’ नेता पराजित

काठमाडौँ, मङ्सिर २४ गते ।  प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा राष्ट्रिय राजनीतिका प्रभावशाली कतिपय उम्मेदवारहरू पराजित हुनुभएको छ ।  प्रतिस्पर्धात्मक चुनावमा ‘हेभिवेट’ उम्मेदवार पराजित हुनुभएको हो ।  केही शीर्ष नेताहरू जारी मतगणनामा पछि पर्नुभएको छ भने केही निकै टक्करका बीच प्रतिस्पर्धामा हुनुहुन्छ ।
पारिवारिक विरासतमा मोरङबाट राजनीति गर्दै आउनुभएका नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला मोरङ–६ बाट पराजित हुनुभएको छ ।  कोइराला वाम गठबन्धनका उम्मेदवार लालबाबु पण्डितसँग पराजित हुनुभयो ।  कोइरालाले ३३ हजार २६६ मत पाउँदा पण्डितले ३३ हजार ९४१ मत पाउनुभयो ।  कोइराला ६७५ को झिनो मतान्तरले पराजित हुनुभएको हो ।  कोइराला राष्ट्रिय राजनीति र काँग्रेसको आन्तरिक राजनीतिमा प्रभावशाली व्यक्तित्व हुनुहुन्छ ।
पण्डित सामान्य प्रशासन मन्त्री भएपछि गर्नुभएका केही कामका लागि चर्चामा हुनुहुन्थ्यो ।  सर्लाहीमा जन्मिएर मोरङको भूभागमा राजनीतिक यात्रा अगाडि बढाउनुभएका पण्डित २०४८ र २०५६ मा पनि मोरङ–३ बाट विजयी हुनुभएको थियो ।
यस्तै मोरङ–४ मा पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता महेश आचार्य वाम गठबन्धनका उम्मेदवार अमनलाल मोदीसँग पराजित हुनुभएको छ ।  विद्यार्थी राजनीतिबाट माओवादीमा प्रवेश गर्नुभएका मोदी पूर्वलडाकुसमेत हुनुहुन्छ ।  प्रतिस्पर्धामा आचार्यले २६ हजार आठ सय मत पाउनुभयो भने मोदीले ३३ हजार ५२९ मत पाउनुभयो ।
निकै रोचक प्रतिस्पर्धाको आकलन गरिएको गोरखा–२ मा नयाँ शक्ति नेपालका डा. बाबुराम भट्टराई विजयी हुनुभयो ।  वाम गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठलाई झन्डै सात हजार १७४ मतान्तरले पराजित गर्दै लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार रहनुभएका भट्टराईले जित हासिल गर्नुभयो ।  श्रेष्ठले २४ हजार ९३३ मत प्राप्त गर्नुभयो ।
ओखलढुङ्गामा युवानेता रामहरि खतिवडा एमालेका यज्ञराज सुनुवारसँग पराजित हुनुभएको छ ।  निवर्तमान सांसद रहनुभएका दुवैजना संसद्मा आफ्नो सशक्त भूमिकाका कारण केन्द्रीय संसद्मा पनि चर्चित हुनुहुन्थ्यो ।  खतिवडा सुनुवारसँग पाँच हजार २५३ मतान्तरले पराजित हुनुभयो ।  खतिवडाले २७ हजार ३२७ मत पाउनुभयो ।
हारमा राणाको ह्याट्रिक
निकै रोचक प्रतिस्पर्धा हुने आकलन गरिएको बहालवाला सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत र पूर्वसञ्चारमन्त्री अग्निप्रसाद सापकोटाबीच चुनावी प्रतिस्पर्धा सोचेजस्तो रोचक देखिएन ।  वाम गठबन्धनका उम्मेदवार सापकोटाले बस्नेतलाई झन्डै ११ हजार मतान्तरले पराजित गर्नुभयो ।  बस्नेतले २९ हजार ७९८ मत पाउँदा सापकोटाले ४० हजार ५०४ मत पाउनुभयो ।
यस्तै सिन्धुपाल्चोक–२ को प्रतिस्पर्धा पनि आकलन गरिएजस्तो प्रतिस्पर्धी भएन ।  प्रारम्भिक मतगणनामा निकै प्रतिस्पर्धा देखिए पनि अन्तिम समयसम्म फिक्का प्रतिस्पर्धा देखियो ।  आठ हजार मतान्तरले वाम गठबन्धनका शेरबहादुर तामाङ विजयी हुनुभयो ।  तामाङले ३८ हजार ४०१ मत पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का पशुपतिशमशेर राणाले ३० हजार ३६९ मत पाउनुभयो ।  तामाङले राणालाई लगातार दोस्रोपटक पराजित गर्नुभयो ।  राणाले हारमा ह्याट्रिक पूरा गर्नुभयो ।
यस्तै सोलुखुम्बुमा काँग्रेस नेता बलबहादुर केसी पनि पराजित हुनुभयो ।  केसी वाम गठबन्धनका हेमकुमार राईसँग पराजित हुनुभयो ।  केसीले १७ हजार २९४ मत प्राप्त गर्नुभयो ।  वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार राईले २० हजार ७४७ मत पाउनुभयो ।
बहालवाला मन्त्री पराजित
बहालवाला सूचना तथा सञ्चारमन्त्री बस्नेत सिन्धुपाल्चोकमा पराजित हुनुभयो ।  यस्तै बहालवाला अर्थ राज्यमन्त्री उदयशमशेर राणा पनि ललितपुर–१ बाट पराजित हुनुभयो ।  एमाले उम्मेदवार पूर्वडीआईजी नवराज सिलवालसँग राणा पराजित हुनुभएको हो ।  यस्तै बहालवाला वाणिज्य राज्यमन्त्री नरबहादुर चन्द पनि बैतडीमा वाम गठबन्धनका उम्मेदवार दामोदर भण्डारीसँग पराजित हुनुभयो ।
यी हुन् फराकिला मतान्तर  
जारी मतगणनामा सबैभन्दा ठूलो मतान्तर अहिलेसम्म दोलखामा भएको छ ।  दोलखामा नेकपा एमालेका उम्मेदवार पार्वत गुरुङ र काँग्रेस उम्मेदवार रुद्रबहादुर खड्काको मतान्तर ३० हजार ६३३ मतको छ ।  गुरुङले ५५ हजार ४५७ र खड्काले २४ हजार ८१३ मत प्राप्त गर्नुभयो ।
यस्तै धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा एमालेका भूमि त्रिपाठी २७ हजार १५३ मतान्तरसहित विजयी हुनुभयो ।  त्रिपाठीले ४९ हजार १२१ मत प्राप्त गर्नुभयो भने काँग्रेसका विश्वप्रसाद अर्यालले २१ हजार ९६८ मत पाउनुभयो ।
यस्तै काठमाडौँ–२ मा एमालेका माधवकुमार नेपालले २५ हजार ६३३ मत पाउँदा काँग्रेसका दीपक कुइँकेलले १४ हजार २०७ मत पाउनुभयो ।  नेपाल र कुइँकेलको मतान्तर ११ हजार ४२६ मत छ ।  यस्तै बागलुङ क्षेत्र नम्बर १ मा वाम गठबन्धनका सूर्यप्रसाद पाठकले १३ हजार ४१ मतान्तरसहित जित हासिल गर्नुभयो ।  पाठकले ३३ हजार ६५७ मत पाउँदा काँग्रेसकी उम्मेदवार चम्पादेवी खड्काले २० हजार ६१६ मत पाउनुभयो ।
यस्तै बैतडीमा बहालवाला राज्यमन्त्री नरबहादुर चन्दलाई एमाले उम्मेदवार दामोदर भण्डारीले ११ हजार २३३ मतान्तरले पराजित गर्नुभयो ।  काँग्रेस उम्मेदवार चन्दले २८ हजार २९१ मत पाउनुभयो ।  रुकुम पश्चिममा माओवादी केन्द्रका उम्मेदवार जनार्दन शर्मा ३४ हजार ४०२ मतसहित विजयी हुनुभयो ।  काँग्रेस उम्मेदवार गोपालजीजङ्ग शाहले १५ हजार ६५९ मत पाउनुभयो ।  शर्मा र शाहको मतान्तर १८ हजार ७४३ छ ।
सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव पनि १० हजारभन्दा बढी मतान्तरसहित सप्तरी–२ बाट विजयी हुनुभएको छ ।  यादवले १९ हजार ५८ मत पाउनुभयो ।  माओवादी केन्द्रका उमेश यादवले १० हजार ८५८ मत पाउनुभयो ।  उपेन्द्र र उमेशको मतान्तर आठ हजार दुई सय मतको छ ।  आठ हजार ३४६ मतान्तरसहित एमाले नेता रवीन्द्र अधिकारी कास्की–३ बाट विजयी हुनुभएको छ ।  अधिकारीका निकटतम प्रतिस्पर्धी देवराज चालिसेले १८ हजार ६६१ मत प्राप्त गर्नुभयो ।  (गोरखापत्र)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्