प्रदेश २ मा मधेशवादी दलले प्रदेश सरकार बनाउने सम्भावना

प्रदेश २ मा मधेशवादी दलले प्रदेश सरकार बनाउने सम्भावना

काठमाडौं, पुस २ गते । समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेसँगै प्रदेश मुख्यमन्त्रीका विषयमा चर्चा सुरु भएको छ । सातवटा प्रदेशमध्ये छ वटा प्रदेशमा वामगठबन्धनको बहुमत रहेकाले गठबन्धनले नै प्रदेश सरकार बनाउने निश्चित छ । प्रदेश २ मा भने मधेशवादी दलले प्रदेश सरकार बनाउने सम्भावना छ । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र महन्थ ठाकुर संयोजक रहेको राष्ट्रिय जनता पार्टी(राजपा) नेपालले मिलेर संयुक्त सरकार बनाउन आन्तरिक सहमति गरिसकेका छन् ।

चुनावमा यी दुई दलले प्रदेश २ का लागि सीटमा तालमेल समेत गरेका थिए । दुई दलले संयुक्त रुपमा गरेको चुनावी प्रचारमा नेताहरूले मधेशवादी दललाई मत माग्दै मधेश सरकार बनाउने प्रतिवद्धता गरेका थिए । प्रदेशसभामा मधेशवादी दलले बहुमत प्राप्त गरेको हुनाले प्रतिवद्धता अनुसार प्रदेश सरकार गठन गर्ने संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मधेशी जनताले नै हामीलाई मधेश सरकार गठन गर्ने म्याण्डेट दिएका छन्, त्यसैले समानुपातिकको परिणाम आउने वित्तिकै त्यसको प्रक्रियामा जान्छौ ।’ दुई दलको संयुक्त प्रदेश सरकार निर्माण हुने निश्चितसँगै प्रदेश २ मा मुख्यमन्त्री को बन्ने भन्ने प्रश्न समेत सिर्जना भएको छ।
अध्यक्ष यादवले भन्नुभयो, ‘हाम्रो पार्टीबाट नै मुख्य मन्त्री बन्ने हो तर कसलाई सिफारिश गर्ने त्यसको विषयमा पार्टीमा कुनै छलफल भएको छैन, सरकार निर्माणको प्रक्रिया शुरु भएसँगै यसको विषयमा पनि छलफल हुन्छ, यता समानुपातिकको पूर्ण परिणाम आउन पनि बाँकी छ ।’
प्रदेशसभामा राजपा नेपालभन्दा फोरम नेपालको सीट संख्या बढी रहेको हुनाले मुख्य मन्त्रीको दावी फोरमले गर्ने बताइएको छ । प्रदेश २ मा प्रदेशसभाका लागि समानुपातिकवाहेक फोरम नेपालले २० र राजपा नेपालले १५ सीट जितेको छ । समानुपातिकमा १०–१० सीट आउने अनुमान तीन दलका नेताहरूले गर्नुभएको छ । त्यस हिसाबले पनि फोरम नेपालको सीट सँख्या बढी हुने भएका हुनाले मुख्यमन्त्री सोही दलको भागमा पर्ने देखिएको छ । एक दुई सीट अपुग भए स्वतन्त्र दललाई मिलाएर भए पनि मधेश सरकार नै बनाउने मधेशी दलको तयारी छ ।
राजपा नेपालका महासचिव एवं प्रवक्ता केशव झाले मधेश सरकार बनाउने सहमति बनिसकेको तर मुख्यमन्त्री कुन दलको भागमा पर्छ त्यसको छिनोफानो हुन बाँकी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, सिटसँख्याको आधारमा मुख्य मन्त्री पाउने हो भने स्वभाविक रुपमा फोरम नेपालले नै पाउने हो तर त्यसका लागि पनि दुई दलको बीचमा सहमति हुन्छ । सहमतिमा राजपा नेपालको भागमा मुख्यमन्त्री पनि पर्न सक्छ ।’
मधेश सरकार बन्ने निश्चित भएसँगै मुख्य मन्त्रीका आकाङ्क्षी पनि देखिएका छन् । फोरम नेपालबाट पार्टीका कोषाध्यक्ष विजय यादव, उपाध्यक्ष लालबाबु राउत, रामसहाय यादव, योगेन्द्र राय यादव, अभिषेक यादवलगायत नेताको नाम चर्चामा छ । उता मुख्यमन्त्रीका लागि राजपा नेपालमा फोरम नेपालभन्दा बढी आकाङ्क्षी छन् । सो दलमा महासचिव जितेन्द्र सोनल, मनिष सुमन, उपाध्यक्ष नवलकिशोर साह, सुरिताकुमारी साह, रानी शर्मा तिवारी, सरोज यादव लगायतको नाम चर्चामा छ ।
मुख्य मन्त्रीका आकाङ्क्षी फोरम नेपालका कोषाध्यक्ष विजय यादवले भन्नुभयो, मुख्य मन्त्रीका लागि पार्टीमा कुनै छलफल भएको छैन, यद्यपि पार्टीले जिम्मेवारी दियो भने त्यसलाई बहन गर्न म तयार छु ।’ प्रदेशसभा सदस्यको नाताले आफू पनि त्यसका लागि तयार रहेको तर यसका लागि पार्टीबाट निर्णय हुनुपर्ने यादवले बताउनुभयो ।
त्यस्तै, राजपा नेपालका महासचिव जितेन्द्र सोनलले भन्नुभयो, मुख्यमन्त्री को बन्ने र कुन दलबाट बन्ने विषय दुई दलबीचको सहमतिबाट टुगों लाग्ने कुरा हो त्यसैले यसमा अहिले नै केही टिप्पणी गर्नु उचित हुँदैन ।’
यद्यपी उहाँले पनि पार्टीले मुख्य मन्त्रीको जिम्मेवारी दिएर पठायो भने त्यसका लागि आफू तयार रहेको बताउनुभयो । प्रदेश २ मा १०७ सदस्य हुनेछन् भने सरकार गठनका लागि बहुमत पु¥याउन कम्तीमा ५४ जना सदस्य आवश्यक पर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्