कमिसनको खेलले इ–रिक्सामाथि लगाम लगाउन खोजियो

कमिसनको खेलले इ–रिक्सामाथि लगाम लगाउन खोजियो

इटहरी९ पुष
पूर्वका विभिन्न शहरमा मुख्य राजमार्गमा विद्युतिय रिक्सा (सीटी सफारी) सञ्चालन गर्न ट्राफिक प्रहरीले रोक लगाएपछि विद्युतिय रिक्सा व्यवसायीले विरोध जनाएका छन् । पूर्वका दमक, विर्तामोड, इटहरी, दुहवी र विराटनगरका विद्युतिय रिक्सा व्यवसायीहरुको इटहरीमा आइतबार भएको भेलाले मुख्य राजमार्गमा विद्युतिय रिक्सा सञ्चालनमा रोक लगाएकोप्रति आपत्ति जनाएको हो ।
उनीहरुले ट्राफिक प्रहरीले मुख्य राजमार्गमा सञ्चालनमा रोक लगाएपछि विद्युतिय रिक्सा चालकहरुले थालेको आन्दोलनमा समेत ऐक्यवद्धता जनाउने निर्णय गरेका छन् ।
विपन्न वर्गका मानिसलाई जीविकोपार्जनका लागि भरपर्दो माध्यम बन्दै गएको विद्युतिय रिक्सालाई मुख्य राजमार्गमा सञ्चालन गर्न रोक लगाएर राज्यले विपन्न मजदुर वर्गको विचल्ली बनाएको व्यवसायी देवराज मादेनले बताए ।
सरकारले पेट्रोलियम पदार्थबाट चल्ने प्रदुषणयुक्त सवारी साधनलाई विस्थापित गर्दै वातावरणमैत्री विद्युतिय सवारी साधनलाई प्रोत्साहन गर्नुपर्नेमा उल्टै पेट्रोलबाट चल्ने तीनपांग्रे टेम्पुलाई प्रोत्साहन गरि विद्युतिय सवारीलाई रोक लगाएको भन्दै व्यवसायीले आपत्ती जनाएका छन् । विपन्न मजदुर वर्गलाई जीविकोपार्जनको राम्रो माध्यम बन्दै गएको वातावरणमैत्री विद्युतिय रिक्सालाई सरकारले झन प्राथमिकता दिनुपर्ने हाम्रो हलेसी ट्रेडर्स इटहरीका सञ्चालक भूवन निरौला बताउँछन् । व्यवसायीहरुले सरकारले तत्काल निर्णय नसच्याए कानुनी उपचारको बाटोबाट अघि बढ्ने तथा विद्युतिय रिक्सा चालकहरुसँग सहकार्य गरि आन्दोलनलाई अघि बढाउने चेतावनी दिएका छन् ।
उनीहरुले कमिसनको खेलका कारण वातावरण मैत्री विद्युतिय रिक्सामाथि लगाम लगाउन खोजिएको दाबी गरेका छन् ।

यसैबीच आइतबार इटहरीमा भएको पूर्वका विद्युतिय रिक्सा व्यवसायीहरुको भेलाले नेपाल इ–रिक्सा व्यवसायी संघ समेत गठन गरेको छ । संघको अध्यक्षमा देवराज लामा, उपाध्यक्षमा दीपक प्रसाईं, सचिवमा विरल अर्याल, स–सचिवमा रेवतीरमण निरौला र कोषध्यक्षमा श्यामसुन्दर अग्रवाललाई चयन गरिएको छ । संघले व्यवसायीका हकहित तथा अहिले देखिएको समस्या समाधानका लागि काम गर्ने संघका सदस्य चन्द्र सापकोटाले जानकारी दिए ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले यातायात विभागको आदेश आएको भन्दै पूर्वका विभिन्न सहरका मुख्य राजमार्गमा विद्युतिय रिक्सा सञ्चालनमा अवरोध गरेपछि चालकहरु आन्दोलित भएका हुन् । आन्दोलनका क्रममा इटहरीमा शुक्रबार चालकहरु र प्रहरीबीच झडप समेत भएको थियो । शनिबार समस्या समाधानका लागि ७ सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलले ७ दिन भित्र प्रतिवेदशन दिने र सोही प्रतिवेदन अनुसार अघि बढ्ने सहमति भएको बताइएको छ ।
हाललाई भने पूर्वमा ट्यांग्रा खोला, पश्चिममा मातामनकामना आरोग्य केन्द्र, उत्तरमा धरान जाने वस स्टेन र दक्षिणमा गोल्डेन चोक भित्र मात्र रोक लगाउने सहमति भएको छ । ट्राफिक प्रहरीले सीटी सफारी सञ्चालनमा रोक लागएपनि सोहि प्रकृया अनुसार दर्ता भएको पेट्रोलबाट चल्ने टेम्पोलाई भने अवरोध गरेको छैन । जसका कारण टेम्पो व्यवासयीसँगको मिलेमतोमा वातावरण मैत्री विद्युतिय रिक्सामाथि लगाम लगाउन खोजिएको विद्युतिय रिक्सा चालकहरुले आरोप लगाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्