धरानका मेयरले बिनाप्रतिस्पर्धा नेताका श्रीमतीलाई जागिर दिएपछि असन्तुष्टि

धरानका मेयरले बिनाप्रतिस्पर्धा नेताका श्रीमतीलाई जागिर दिएपछि असन्तुष्टि

धरान । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाले बिनाप्रतिस्पर्धा एमाले नेताका श्रीमतीलाई जागिर खुवाएका छन् । नेताका श्रीमतीलाई विना प्रकृया खरिदार पदमा भर्ती गरेपछि एमाले कार्यकर्ता सुब्बप्रति असन्तुष्टि बढेको छ ।

उपमहानगरपालिकामा कर्मचारी आवश्यक परे पदपूर्ति समितिले लिखित र मौखिक परीक्षा लिएर बढी अंक ल्याउने उम्मेदवारलाई मात्र नियुक्त गर्ने प्रावधान छ । तर, मेयर सुब्बाले आफूखुसी नेताका श्रीमतीलाई खरिदार तहको जागिर दिलाएका हुन् । खरिदार जागिर पाउनेमा एमाले सुनसरी क्षेत्र नम्बर १ का अध्यक्ष इन्द्र राईकी श्रीमती विजयकला राई र एमाले धरानका सचिव राजमणि निरौलाकी श्रीमती प्रमिला निरौला छन् । उनीहरूलाई ६ महिनाको नियुक्ति दिएर उपमहानगरपालिकाको एकीकृत सहरी विकास आयोजनाअन्तर्गतको वडा नम्बर १७ स्थित खानेपानीको बिल काउन्टरमा खटाइएको छ ।

कांग्रेस धरानका सभापति तिलक राईले खुला प्रतिस्पर्धाबिना नेताका श्रीमतीलाई जागिर दिँदा गलत सन्देश गएकाले उक्त निर्णय तत्काल खारेज गर्नुपर्ने बताए । ‘धरान उपमहानगरपालिका एमाले कार्यकर्ता भर्ती गर्ने थलो होइन’, उनले भने, ‘सुब्बा जनताको काम गर्न होइन, एमाले कार्यकर्ता भर्ती गर्न मेयर भएका रहेछन् ।’

एमाले क्षेत्र नम्बर १ का सदस्य डम्बर गुरुङले पनि नेताका श्रीमतीलाई जागिर लगाएको विषयमा असन्तुष्टि जनाए । पार्टी काम र निर्वाचनका बेला खटिने कार्यकर्तालाई बेवास्ता गरी केही नेतालाई खुसी पार्ने गरी नियुक्ति दिनुले सर्वहारालाई अवहेलना गरेको पुष्टि भएको उनको दाबी छ ।(न्युज २४)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्