विराटनगर, २७ पुस । मोरङभरका पत्रकारहरू सम्मिलित संचारकर्मी संचार सहकारी संस्थाले आर्थिक वर्ष २०७३ र ०७४ मा ४८ लाख ९८ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।
९ लाख १५ हजार कूल शेयर पूँजी रहेको सहकारी ६ वर्ष अगाडि स्थापना भएको थियो । पत्रकारका लागि संचारसामाग्री खरिद गर्न तथा साना तिना व्यवहार धान्न सहज होस् भन्ने उद्देश्यले स्थापना गरिएको सहकारी झण्डै आधा करोड कारोबार गर्ने क्षमतामा पुगेको छ । ९४ जना शेयर सदस्य रहेको सहकारीले ३६ लाख ८१ हजार रुपैयाँ ऋण लगानी समेत गरेको छ । पत्रकारका परिवार, पत्रपत्रिका तथा संचारमाध्याममा आवद्ध संचारकर्मी सदस्य रहन पाउने गरि मोरङ कार्यक्षेत्र रहेको सहकारीले छोटै समयमा उल्लेखनिय प्रगति गरेको संस्थाका अध्यक्ष मोहन भण्डारीले बताए ।
मासिक ५ सय रुपैयाँ बचत गर्ने गरेका पत्रकारहरुले हालसम्म १६ लाख ५३ हजार रुपैयाँ जम्मा गरिसकेका छन् । यसका साथै पत्रकारहरुको प्रोत्साहनका लागि भन्दै सहकारीले, ३० हजार रुपैयाँ राशीको ओम प्रकाश गोयल पत्रकारिता पुरस्कार, २१ हजार राशीको मेम्बर चन्द्रलाल–दुर्गादेवी संचार श्रमजीवि पुरस्कार र १० हजार १ रुपैयाँ राशीको मिना श्रेष्ठ परिश्रमी पत्रकार महिला प्रोत्साह पुरस्कार स्थापना समेत गरेको छ ।
संस्थाले आगामि वर्षमा भने संस्थाको कूल शेयर पूँजीमा वृद्धि गरी २० लाख नघाउने लक्ष्य लिएको छ । १० हजार रुपैयाँको शेयर पूँजीलाई बढाउँदै संस्थाले अब २५ हजारसम्मको शेयर खरिद गर्न पाउने निर्णय पनि गरेको छ । संस्थाले आज नेपाल पत्रकार महासंघको हलमा आफ्नो छैठौं वार्षिक साधरणसभा सम्पन्न गरेको छ ।
प्रमुख अतिथि जिल्ला समनय समिति मोरङका संयोजक नरेश पोखरेलले नेपालमा सहकारी आन्दोलनले आम जनमानसमा सेवानै गरेकोछ, र यसले आवश्यक्तालाई पुरा गर्ने वा सापटी जस्तो आर्थिक कारोवारलाई पनि यसैको माध्यमबाट सहज गर्न सजिलो हुने बताए ।
नेपाल पत्रकार महासंघका पुर्व सभापति शिवबहादुर कार्की, नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेले बोलेका थिए । कार्यक्रममा दुई सञ्चारकर्मीलाई सम्मान गरिएको थियो । सहकारीको असल ऋणीअनुजलाल कर्ण र असल उत्कृष्ट बचतकर्ता शान्ति दाहाललाई सम्मान गरिएको थियो ।