दुग्ध विकास संस्थान विराटनगरमा चरम भ्रष्टाचार ‘लाचार’कार्यालय प्रमुख भन्छन,‘रोक्न सकिन’

दुग्ध विकास संस्थान विराटनगरमा चरम भ्रष्टाचार ‘लाचार’कार्यालय प्रमुख भन्छन,‘रोक्न सकिन’

विराटनगर २९ पौष ।  विराटनगर स्थित दुग्ध वितरण आयोजना (डिडिसी)ले २५ हजार मूल्यमा पाइने सामान १ लाख ४५ हजारमा खरिद गरेर भ्रष्टाचार गरेको पाइएको छ ।
खरिद प्रकृयामा व्यशायीसंग मिलेर अधिक बिल बनाई भुक्तानी गरेको पाइएको हो । भ्रष्टाचारमा दुग्ध विकास संस्थान कर्मचारी संघ क्षेत्रीय समितिको पनि मिलेमतो देखिएको छ । निरन्तर घाटामा रहेको आयोजनाले स–साना सामान खरिदमा पनि वास्तविक भन्दा पाँच गुणा बढीको बिल बनाएर भ्रष्टाचार गरेको पाइएपछि छानविनका लागि कर्मचारीले नै आवाज उठाएका छन ।
आयोजनाले २०७४ पुस १२ गते खरिद गरेको एसएस ३०४ ग्रेडको ५ थान पाइप खरिद गर्दा १ लाख ४५ हजार ७ सय ७० रुपैयाँको बिल बनाएको छ । त्यही गुणस्तरको पाइप बजारमा आम उपभोक्ताले २५ हजार १ सय ७० रुपैयाँमै खरिद गर्न सक्छन् । आयोजनाका लागि काठमाडौंको लाल टे«डिङ कम्प्लेक्सले खरिद गरेको पाइपको मूल्य १ लाख ४५ हजार छ भने विराटनगर स्थित पञ्चकन्या हार्डवेयर्सले २५ हजारमा दिएको छ । फरक–फरक मूल्यमा एउटै सामान खरिद गरिएपछि भ्रष्टाचार भएको बाहिर आएको हो ।
कर्मचारीलेनै भ्रष्टाचार भएको बताउन थालेका छन । इन्जिनियरिङ शाखाका सुपरभाइजर कृष्णकुमार हलुवाईले पाइप खरिदमा भ्रष्टाचार भएको बताए । आयोजना प्रमुख सरोजकुमार सिंखडाले भने पाइप खरिदको विषयमा सम्बन्धीत शाखामा सोधिएको र सामान फिर्ता पठाउने तयारी भएको दावी गरे । सामान खरिदका लागि इन्जिनियरिङ शाखा प्रमुख परमेश्वर चौधरीले प्रक्रिया मिलाएका थिए । सूचना बाहिरिएपछि जोगिनका लागि सामान फिर्ता गर्ने बहाना झिकिएको भन्दै कर्मचारीले छानविन गर्नु पर्ने आवाज उठाएका छन् । कर्मचारीले अन्य सामान खरिदमा पनि चरम भ्रष्टाचार हुने गरेको भन्दै कम्तीमा पाँचवर्ष यता खरिद गरिएका सबै सामानको छानविन गर्नुपर्ने माग गरेका छन् ।
त्यसबारे उनीहरुले अख्तियारमा पनि उजुरी हालेका छन । सामान्य मर्मत गर्दा संचालनमा आउन सक्ने सम्भावना भएपनि त्यसो नगरी आवश्यक क्षमता भन्दा कमका जेनेरेटर पटक पटक खरिद गरेर अनियमितता गरिरहेको सूचना पनि चुहिएको छ ।
पछिल्लो दुई वर्षमा मात्र चार थान जेनेरेटर खरिद गरिएको छ । जवकी अहिले लोडसेडिङको समस्या समाधान भइसकेको छ । इन्जिनियरिङ शाखाका कर्मचारी धर्मनारायण देव भन्छन् ‘किसानको दूधको फ्याट ठगेर खाने पनि छन् । करोडौंको घोटाला छ डिडिसीमा । अख्तियारमा निवेदन दिँदापनि छानविन भएन ।’ अर्का कर्मचारी दलबहादुर आचार्यले आयोजना डुब्न नदिन प्रमुखलाई पटक पटक जानकारी गराउँदा पनि सुनुवाई नगरेको बताए । खरिद प्रकृयामा भ्रष्टाचार हुने गरेको सूचना बाहिरिएपछि कार्यालय प्रमुखले आफ्ना कर्मचारी भ्रष्ट भएको प्रतिकृया दिएका छन् । दैनिक २२ हजार लिटर दुध संकलन गरी बजारमा आपुर्ती गर्दै आएको आयोजनाका प्रमुख सरोज सिंखडाले भने ‘कर्मचारी आफैं बेठिक छन्, करेक्सन गराउन खोजे उद्योग नै चल्दैन । भ्रष्टाचार निरुत्साहित गर्न लागेको छु ।’ कार्यालयबाट हुने अनियमितता जोगाउन त्यहाँ क्रियाशिल कर्मचारी संगठन पनि लागेका छन् । पाइप खरिदमा भएको भ्रष्टाचारको सूचना चुहिएलगत्तै कर्मचारी संघ नेपालका क्षेत्रीय अध्यक्ष चुडामणी निरौलाले प्रेस विज्ञप्ति निकालेर संस्थान भित्रको सत्यतथ्य सूचना चुहावट गर्ने कर्मचारीलाईनै कारवाही गर्न माग गरेका छन । निरौलाको विज्ञप्तिमा अनियमितताको तथ्य कर्मचारिले लुकाउनु पर्ने बताइएको छ । उनले भ्रष्टाचारको विरुद्धमा आवाज उठाउने कर्मचारीलाई अनुशासनको कारवाही गर्न पनि व्यवस्थापनलाई आग्रह गरेका छन ।
समाचार दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्