काठमाडौँ । शिक्षा मन्त्रालयले शैक्षिक परामर्शका नाममा विद्यार्थी ठगी गर्ने दुई कन्सल्टेन्सी बन्द गर्ने निर्णय गरेको छ । मन्त्रालयले क्यानडाको वर्क पर्मिट देखाएर पैसा माग्ने तथा आइइएलटिएसमा ठगी गर्ने दुई कन्सल्टेन्सी बन्द गर्ने निर्णय गरेको हो । आजको नयाँ पत्रिकामा खबर छ ।
पुतलीसडकस्थित वेब्स्टर एजुकेसन नेटवर्क प्रालिले ६ जनालाई वर्क पर्मिट लेटर देखाएर त्यसका आधारमा कन्सल्टेन्सीका सिइओ जनकबहादुर वाइवाको व्यक्तिगत खातामा पैसा जम्मा गर्न लगाई ठगी गरेको उजुरी परेको थियो । मन्त्रालयको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाका अधिकृत तारानाथ निरौलाका अनुसार ६ जनाको उजुरीका आधारमा ठगी गरेको पाइएपछि सो कन्सल्टेन्सी बन्द तथा कारबाही गर्नका लागि महानगरीय अपराध महाशाखालाई पत्राचार गरिएको छ ।मन्त्रालयले गत ८ माघमा महाशाखालाई पत्राचार गरेको हो । सो कन्सल्टेन्सीले शिक्षा मन्त्रालयमा आवेदन दर्ता गरे पनि सञ्चालनका लागि स्वीकृति पाएको थिएन ।
बानेश्वरस्थित वल्र्डवाइड एजुकेसन कन्सल्टेन्सीमाथि पनि शिक्षा मन्त्रालयले कारबाहीको पक्रिया अघि बढाएको छ । सो कन्सल्टेन्सीका सञ्चालक सुरज लामासहितको संलग्नतामा आइइएलटिएसको प्रश्नपत्र आउट गरेकोमा प्रहरीबाट अनुसन्धान भइरहेको भन्दै मन्त्रालयले निलम्बन गर्ने माइनुट तयार गरेको छ । अहिले निलम्बन गरी सो कन्सल्टेन्सीबाट कुनै काम नगर्न र सेवाग्राहीलाई सेवा नलिन आग्रहसमेत गरेको छ ।