काठमाडौं, २० माघ । धितोपत्र बजारमा एकै पटक दुई अर्ब ५१ करोड ६० लाख रुपैयाँ बराबरको साधारण शेयर निष्काशन हुने भएको छ । रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाले आउँदो फागुन ११ गतेदेखि एकै पटक उक्त परिमाणको सीमित साधारण शेयर बिक्री गर्ने भएका हुन् । दुवै कम्पनीले कम्पनी रजिष्ट्रारको कार्यालयमा शेयर संरचना तथा लगानीसम्बन्धी जानकारी पेश गरेपछि सीमित साधारण शेयर जारी गर्ने तयारी गरिएको हो । सोही जानकारी बुझाउन केही समय लागेका कारण सीमित साधारण शेयर बिक्री गर्ने अवधिक एक महिना पर सरेको थियो ।
‘हामीले सबै निकायबाट स्वीकृति प्राप्त गरिसकेका छौँ’ रसुवागढी आयोजनाका प्रमुख माधव कोइरालाले भन्नुभयो, ‘आगामी फागुन ११ गतेदेखि कर्मचारी सञ्चय कोषमा कोषकट्टी गर्दै आएका पाँच लाख रुपैयाँभन्दा बढी कर्मचारी, सञ्चयकोषका कर्मचारी तथा रसुवा जिल्लाका साविक गाविसका कर्मचारी र रसुवा जिल्ला समन्वय समितिमा कार्यरत कर्मचारीले शेयरमा आवेदन दिन सक्नेछन् ।’
चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीको रुपमा रहेका साञ्जेन जलविद्युत् कम्पनी र रसुवागढी जलविद्युत् कम्पनीले एकै पटक एकै दिनदेखि साधारण शेयर बिक्री गर्ने भएपछि आवेदनकर्तालाई समेत सहज हुने विश्वास लिइएको आयोजना प्रमुख कोइरालाको भनार्इ छ ।