विराटनगर, २१ माघ ।
क्यान्सर नसर्ने रोग हो । तर, यो हाल विश्व जनस्वास्थ्यमा समस्याको रुपमा देखा परेको छ । यो रोगले एक व्यक्तिलाई मात्र नभई समाज, देश र सारा विश्वलाई चुनौती थपिरहेको छ । यो रोग धनी, गरिब, महिला, पुरुषका साथै बच्चादेखि बुढासम्म जुनसुकै उमेरका मानिसलाई र शरीरका सबै अंगमा लाग्न सक्ने भएकाले यो रोगका बारेमा सबैले थाहा पाउन जरुरी छ । यो रोग लाग्ने कारणहरुमा अस्वस्थ्यकर खानपिन, रहनसहन, वातावरणीय प्रदुषण र दैनिक क्रियाकलापको कमीलगायत प्रमुख हुन् ।
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार प्रतिवर्ष विश्वमा करिब १ करोड २० लार्ख नयाँ क्यान्सरका बिरामी देखिन्छन् र बर्सेनि करिव ७५ लाख व्यक्तिको मृत्यु हुने गरेको छ । यही दर कायम रहने हो भने सन् २०१५ सम्ममा करिब १ करोड ५० लाख जति नयाँ क्यान्सरका रोगी हुने सम्भावना छ । यो संख्या सन् २०३० सम्ममा झण्डै दोव्वर अर्थात् २ करोड ६४ लाख नयाँ क्यान्सरका रोगीहरु हुने भन्ने अनुमान गरिएको छ, जसमध्ये ७० प्रतिशतभन्दा बढी हाम्रोजस्तो विकाशसिल देशमा देखिने छ । हाल क्यान्सरका कारण प्रतिदिन २१ हजार, प्रति मिनेट १५ जना र प्रत्येक ४ सेकेण्डमा १ जनाको मृत्यु हुने गरेको तथ्यांक छ ।
मृत्युको १३ प्रतिशत कारण
हाल विश्वमा फोक्सो, आमाशय, स्तन, पाठेघर र मुखको क्यान्सर बढी देखिएका छन् । विश्वमा हुने कुल मृत्युको करिब १३ प्रतिशत कारक तत्व क्यान्सर बनेको छ । विकसित देशमा हुने मृत्युमध्ये क्यान्सर दोस्रो स्थानमा आउँछ भने विकासशिल देशमा तेश्रो स्थानमा आउँछ । क्यान्सररोगबारे विश्वव्यापी रुपमा रोकथाम र नियन्त्रणसम्वन्धी जनचेतना फैलाउनका लागि हरेक वर्ष फेब्रुअरि ४ का दिन विश्व क्यान्सर दिवस मनाउने गरिएको छ ।
नेपालमा कति छन् ?
विश्वव्यापी रुपमा वढिरहेको यो रोग नेपालमा पनि जटिल समस्याको रुपमा देखा पर्दैछ । हाम्रो देसमा हालसम्म कति क्यान्सर रोगी छन् र बर्सेनि कति जनाको मृत्यु हुने गरेको छ भन्ने आधिकारिक तथ्यांक नभए पनि विश्व स्वास्थ्य संगठनको आधारअनुसार वार्षिक करीव नयाँ क्यान्सर रोगी हुने ४० हजार र हाल करिव १ लाखभन्दा बढी क्यान्सर रोगी रहेको अनुमान गरिन्छ । यस रोगको नियन्त्रणका लागि प्राथमिकताका साथ समन्वयात्मक ढंगले कार्यहरु गरि क्यान्सर रोकथाम, नियन्त्रण तथा उपचारका कार्यक्रम संचालन नगरेमा आगामी दिनमा यो रोग अझै भयावह हुनेछ । (श्रोत: स्वास्थ्य खबर)