रामेछाप,  १ फागुन । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का कार्यकर्ताहरुले रामेछापमा रहेको एनसेलका दुईवटा टावरमा क्षति पुर्याएका छन् । विप्लवका कार्यकर्ताहरुले मंगलबार विहान जिल्लाका दुईवटा टावरमा क्षति पुर्याएपछि एनसेल सेवा वन्द भएको छ । एनसेलको सेवा वन्द भएसँगै रामेछापमा एनसेल सेवा लिइरहेका सर्वसाधारणहरु मारमा परेका छन् ।
एनसेलले नेपाल सरकरलाई तिर्नुपर्ने कर ४२ अर्ब रुपैयाँ लामो समय वितिसक्दा पनि नबुझाएको भन्दै विप्लवका कार्यकर्ताहरुले रामेछाप नगरपालिका – ६ भालुखोप डाँडामा रहेको रिपिटर टावर र दोरम्वा गाउँपालिका– २ थापागाउँमा रहेको टावरमा क्षति पुरयाएका छन् ।
एनसेल कम्पनीलाई पटक–पटक राज्यलाई बुझाउनु पर्ने ४२ अर्ब रुपैयाँ कर वापतको रकम बुझाउन जानकारी गराउँदा समेत कम्पनीले रकम बुझाउन आनाकानी गरेको भन्दै त्यसको विरोध स्वरुप आफ्नो पार्टीले रामेछापलगायत देशभरका ५ सय भन्दा बढी एनसेल टावरमा क्षति पुर्याएको र यो अभियान जारी रहने नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी जन परिषद रामेछापका प्रमुख विवेक लामाले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस