सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा सञ्चालित जुट उद्योगका लागि कच्चा पदार्थ अभाव

सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा सञ्चालित जुट उद्योगका लागि कच्चा पदार्थ अभाव

नवराज कट्टेल , विराटनगर, फागुन ३ गते । जुट उद्योगका लागि आवश्यक कच्चा पदार्थ जुट खेतीमा आएको कमीका कारण सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा सञ्चालित उद्योगहरू भारत र बङ्गलादेशको भरमा वस्तु उत्पादन गर्न बाध्य हुँदै गएका छन् । स्वदेशी कच्चा पदार्थ उत्पादनमा बर्सेनि कमी हुँदै गएपछि ठूलो लगानीमा स्थापना भएका उद्योग सञ्चालनमा समस्या बढ्दै गएको उद्योगीहरूले गुनासो गरेका हुन् ।
कच्चा जुट अभावसहित अन्य विभिन्न कारणले सुनसरी–मोरङ औद्योगिक कोरिडोरका पाँच जुट उद्योग बन्द भइसकेको र बाँकी रहेका पाँच उद्योगको समेत अवस्था खराब रहेको नेपाल जुट उद्योग सङ्घका अध्यक्ष राजकुमार गोल्छाले बताउनुभयो ।
कोरिडोरमा स्थापित उद्योगमध्ये हाल पाँच उद्योगले वस्तु उत्पादन गरी भारत र बङ्गलादेशमा निर्यात गर्दै आएका छन् तर कच्चा पदार्थका लागि भारत र बङ्गलादेशकै भर पर्नुपर्ने भएपछि त्यस्ता उद्योगले उत्पादन गरेको वस्तुको बजारीकरण र मुनाफा आर्जनमा नकारात्मक प्रभाव रहने गरेको उद्योगीहरूको गुनासो छ । कोरिडोरका गुह्येश्वरी, नेपाल जुटमिल, मिक्की जुटमिल, चन्द्रशिव जुटमिल र विराटनगर जुटमिल बन्द भइसकेका छन् ।

कोरिडोरमा चालू अवस्थाका पाँच जुट उद्योगले वस्तु उत्पादन गर्नका लागि आवश्यक पर्ने कच्चा जुटको ३० प्रतिशत मात्र नेपाली जुट खेतीले धान्दै आएको छ । बाँकी ७० प्रतिशत कच्चा जुटसमेत भारत र बङ्गलादेशबाट आयात गरिँदै आएको अध्यक्ष गोल्छाको दाबी छ । अध्यक्ष गोल्छाका अनुसार भारतबाट ५५ प्रतिशत र बङ्गलादेशबाट १५ प्रतिशत जुटको कच्चा पदार्थ आयात भइरहेको छ । कच्चा पदार्थमा परनिर्भर बन्नु परेपछि उत्पादन भएको वस्तुको निर्यातसमेत त्यही देशमा गर्नुपर्ने भएका कारण जुट उद्योग सञ्चालनमा जटिलता बढेर सङ्कट निम्तिने चिन्ता उद्योगीहरूमा छ ।
जुटबाट उत्पादित वस्तु भारतमा निर्यात गर्दा र भारतबाट ल्याउने कच्चा पदार्थमा भारतीय भन्सार क्षेत्रमा ‘एन्टी डम्पिङ’ शुल्क बुझाउनुपर्ने समस्यासमेत थपिएको अध्यक्ष गोल्छाले बताउनुभयो । ‘समस्या थपिएको छ, हल गर्ने विधि खोज्दै छलफल चलाइरहेका छौँ’ अध्यक्ष गोल्छाले भन्नुभयो, अब स्वदेशी कच्चा जुट उत्पादन नहुने हो भने जुट उद्योग सञ्चालनमा समस्या हुन्छ ।
जुट खेतीमा नेपाली किसानलाई प्रोत्साहन र उत्पादित वस्तु प्रयोगमा उपभोक्तालाई अनिवार्यता कायम गर्नसके तत्कालको समस्या हल हुने जुट उद्योगीहरूको भनाइ छ । घरेलु कच्चाबाट उत्पादन भएको वस्तु निर्यात गर्दा देशको राजस्वमा दोहोरो फाइदा मात्र नभई वातावरणीय रूपमा समेत त्यसको प्रत्यक्ष लाभ मोरङ व्यापार सङ्घका महासचिव एवं जुट उद्योगी प्रकाश मुन्दडाले बताउनुभयो । सुनसरी–मोरङमा सञ्चालित उद्योगहरूमा १४ हजार मजदुर कार्यरत रहेका छन् । कुनै समयमा ३० हजार मजदुरले रोजगारी पाएको जुट उद्योगलाई कच्चा पदार्थ अभाव हुँदा रोजगार गुम्दै गएको छ । वातावरणीय दृष्टिकोणले उत्तम मानिने कृषि उपज नगदेबाली जुटबाट उत्पादन भएको वस्तु प्रयोगमा अनिवार्यता कायम हुँदा समेत नेपालमा यसको खपत बढ्ने र त्यसको प्रभाव सकारात्मक हुने देखिन्छ ।
भारतमा प्लास्टिकजन्य वस्तुका झोला तथा बोरा र प्याकेजिङसमेत निषेध गरेका कारण नेपालमा उत्पादन भएको जुटजन्य वस्तुको बजार भारतलाई बनाउन सकिन्छ तर कच्चा वस्तुसमेत त्यहीँबाट आयात गर्नुपर्ने भएपछि लगानी बढ्ने र त्यसले देशको राजस्वलाई समेत  प्रभावित बनाउने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्