स्वास्थ्य चौकीमा सिटामोल नपाएरै फर्कन्छन् बिरामी

<span class='c1'>स्वास्थ्य चौकीमा सिटामोल</span> <span class='c2'>नपाएरै फर्कन्छन् बिरामी</span>

डोल्पा, रासस । त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गतका पाँचवटै स्वास्थ्य चौकीमा औषधि अभाव भएको छ ।

त्रिपुरा स्वास्थ्य केन्द्र त्रिपुराकोट, पहाडा, लिकु, सुँ र ल्हाँ स्वास्थ्य केन्द्रमा औषधिको चरम अभाव भएको छ । पाँचवटै स्वास्थ्य केन्द्रमा गत मंसिरदेखि नै औषधिको अभाव भएपनि सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन ।

जिल्ला अस्पतालले गत असोज पहिलो सातामा रु एक लाख ५० हजार बराबरको औषधि पठाएको थियो । उक्त औषधिले मंसिरको दोस्रो हप्तासम्म जेनतेन धानेको थियो । “अहिले सिटामोलसम्म छैन, दैनिक बिरामी आउँछन् तर औषधि नहुँदा रित्तै फर्काउनु परेको छ”, त्रिपुराकोट स्वास्थ्य केन्द्रकी निमित्त प्रमुख सिर्जना रोकायाले भनिन् ।
स्थानीय तह बनिसकेपछि यस मातहतका सबै स्वास्थ्य केन्द्रको रेखदेख तथा औषधि व्यवस्थापनलगायतको जिम्मा नगरपालिकाको जिम्मामा भएको रोकायाले बताइन् । “बारम्बार जानकारी गराउँदासमेत नगरपालिकाले ध्यान दिएको छैन,” उनले भनिन्, “घण्टौँ हिँडेर बिरामी आउने गर्छन्, औषधि छैन भन्दै फर्कनु परेको छ ।”

त्रिपुरा स्वास्थ्य चौकी जस्तै लिकु, पहाडा, ल्हाँ र सुँ स्वास्थ्य केन्द्रको अवस्था पनि उस्तै छ । सामान्य औषधिसमेत नभएको पहाडा स्वास्थ्य चौकीका प्रमुख कृष्ण कार्कीले बताए । पाँचवटै स्वास्थ्य केन्द्रका स्वास्थ्य संयोजक सञ्जयकुमार मण्डल स्वास्थ्य केन्द्रमा कहिलेकाहीँमात्र देखिने गरेको स्वास्थ्यकर्मीको भनाइ छ ।

गत पुस १ गते बसेको नगरको कार्यपालिकाको बैठकले रु १५ लाखको औषधि र उपकरण खरिद गर्ने निर्णय गरेको भएपनि जनप्रतिनिधिको बेवास्ताका कारण खरिदमा ढिलाइ भएको नगरपालिकाका निमित्त कार्यकारी अधिकृत हिराचन्द्र धरलाले बताए । औषधि खरिदका लागि पहल गरिरहेको उनको भनाइ छ ।

जिल्ला अस्पताल दुनैका प्रमुख डा श्रीकान्त अग्रवालले स्वास्थ्य केन्द्रमा स्थानीय निकायले जिम्मेवारी लिएपछि समस्या समाधानको साटो झनै बल्झिन थालेको बताए । “नगरपालिकाले औषधि खरिद गर्छ भनेर बाटो हेर्दा अहिलेसम्म खरिद गरेको छैन,” उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्