नेविसंघको प्रदेशस्तरीय प्रशिक्षण : देउवा पक्षका नेताद्वारा  बहिस्कार

नेविसंघको प्रदेशस्तरीय प्रशिक्षण : देउवा पक्षका नेताद्वारा  बहिस्कार

तर, प्रदेश स्तरको प्रशिक्षण कार्यक्रम चलिरहदा संस्थापन पक्षका नेता कार्यकर्ता र विद्यार्थी नेताहरुले यसलाई ‘गुट भेला’ को संज्ञा दिएका छन् । र, देउवा पक्षका कोही पनि नेताहरु कार्यक्रममा सहभागी भएका छैनन् ।

कार्यक्रममा कृष्णप्रसाद सिटौला र रामचन्द्र पौडेल समूहका नेताहरु मात्रै सहभागिता छ । विद्यार्थीको प्रशिक्षण भनिए पनि उदघाटनका दिन गैरविद्यार्थी प्रौढहरु पनि सहभागी थिए । डा. शेखर कोइरालाको प्रमुख आतिथ्य र नेविसंघका क्षेत्रीय सभापति हेम पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा देउवा पक्षका विधार्थी नेता नैनसिंह महर, नेविसंघका प्रदेश १ का संयोजक विकास केसी लगायतको सहभागिता छैन ।

नेविसंघको कार्यक्रमा संस्थापन पक्षका नेता एवं पार्टीका केन्द्रीय सदस्य अमृत अर्याल, जिल्ला अध्यक्ष एवं पूर्वसांसद डिकबहादुर लिम्बु, लगायतका नेता कार्यकर्ताहरुको सहभागिता छैन । कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइराला प्रमुख अतिथि बनेका छन् । कोइरालालाई कांग्रेसभित्र गुटगत राजनीति नचलाउने नेताका रुपमा मानिँदै आएको छ ।

कार्यक्रममा सिटौला समूहका नेविसंघका महामन्त्री कुन्दन काफले, पूर्व अध्यक्षहरु प्रदीप पौडेलका साथै रामचन्द्र पौडेल लाइनका नेता चन्द्र भण्डारी, गुरुराज घिमिरे, धनराज गुरुङ लगायतको सहभागिता छ । कांग्रेसका नेता एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापा कार्यक्रममा आउने भनिए पनि उनको सहभागिता देखिएन ।

कार्यक्रमको आधिकारिकताबारे विवाद

नेविसंघका एक नं प्रदेश इञ्चार्ज केसीले सुन्दर हरैंचामा नेविसंघको आयोजनामा राखिएको भनिएको कार्यक्रम रामचन्द्र पौडेल र कृष्ण सिटौला गुटको मात्रै भएकाले कार्यक्रम आयोजना गर्नेलाई कार्वाही गर्ने चेतावनी दिए ।‘नेविसंघको आयोजनामा भएको भनेर प्रचार–प्रसार गरी जुन कार्यक्रम भएको छ, यो गुटका नेताहरुले एकलौटी आयोजनामा गरेको हो र यो विधान विपरीत छ’ केसीले भने, विधान विपरीत काम गर्नेलाई अब छाडिँदैन ।’

नेविसंघ नेता केसीले प्रशिक्षण कार्यक्रमका बारेमा आफूलाई जानकारीसमेत नगराइएको बताए । कार्यक्रमको संयोजन नेविसंघका सहमहामन्त्री कृष्ण कार्कीले गरेका छन् । उनी सिटौला समूहका हुन् । सहमहामन्त्री कृष्ण कार्कीले भने सुन्दर हरैंचामा आयोजना भएको सो कार्यक्रम नेविसंघको आधिकारिक कार्यक्रम भएको दावी गरे । अध्यक्ष नैनसिंह महर र प्रदेशका संयोजक विकास केसी लगायतका पार्टीका नेताहरुलाई बोलाएको भए पनि उहाँहरु व्यक्तिगत कारणले कार्यक्रममा सहभागी नभएको कार्कीले जानकारी दिए ।

संस्थापन पक्षले कार्वाही गर्ने धम्की दिएको विषयमा कार्कीले भने, ‘ संगठनले प्रशिक्षण कार्यक्रम गर्दाखेरि कसले कसलाई किन कार्वाही गर्छ मलाई थाहा छैन, कार्वाही गर्न सक्ने हो भने पहिला डा.शेखर कोइरालालाई कारवाही गरेर देखाउन म चुनौती दिन्छु ।’ भित्र नेविसंघको प्रशिक्षण चलिरहेका बेला बाहिर मैदानमा झण्डालाई पोल बनाएर वालकहरु फुटबल खेलिरहेको दृश्य पनि निकै रोचक देखिएको छ । - अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्