बाँके, १८ फागुन । जाँड रक्सी खाएर दिनहुँ कुटपिट गरेकाे भन्दै श्रीमतीले श्रीमानलाई विष खुवाएर हत्या गरेको घटना सार्वजनिक भएको छ । बाँके डुडुवा गाउँपालिका – ४ गडारियनपुरका ४० वर्षीया पतंगी गडरियाले ४५ वर्षीय श्रीमान कुर्कुट गडरियालाई सर्वतमा सेल्फास नामक विष हालेर खुवाउँदा उनको मृत्यु भएको हो ।
बिहीबार विष खुवाएर हत्या गरेपछि गाउँ नजिकै खेतमा शवलाई जलाउन लगेको बेला गाउँलेले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनामा प्रत्यक्ष संलग्न रहेका श्रीमती पतंगी र आफन्त भारत जिल्ला बहराइचका ४० वर्षीय कुन्नु गडरियालाई पक्राउ गरेको छ ।
घटना रहस्यमय भएकाले संलग्न दुई जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको बाँकेका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक टेकबहादुर तामाङले बताउनुभयो । उहाँले मृतक कुर्कुटले लामो समयदेखि मादक पदार्थ सेवन गरेर आफूलाई कुटपिट गरी यातना दिएकाले सहन नसकेर श्रीमानको हत्या गरेको पतंगीले प्रहरीसमक्ष स्वीकारेकी बताउनुभयो । – रासस