संघीय सांसदको शपथ आज, ४४ जनाले मातृभाषामा शपथ लिने 

संघीय सांसदको शपथ आज, ४४ जनाले मातृभाषामा शपथ लिने 

काठमाडौं, २०फागुन । संघीय संसदका सांसदको सपथ ग्रहण आज हुँदैछ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको चुनाव भएको ३ महिनापछि बल्ल सांसदले सपथ लिन लागेका हुन् । संघीय संसद सचिवालयका अनुसार प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण दिउँसो ४ बजे र राष्ट्रियसभाका सदस्यको शपथ ग्रहण ५ बजे हुनेछ ।

प्रतिनिधिसभाका सदस्यले प्रतिनिधिसभाका ज्येष्ठ सदस्य ८० वर्षीय महेन्द्रराय यादवसँग र राष्ट्रियसभाका सदस्यले राष्ट्रियसभाका ज्येष्ठ सदस्य ६९ वर्षीया तारादेवी भट्टसँग शपथ लिनेछन् । त्यसअघि दुवै सदनका ज्येष्ठ सदस्यले राष्ट्रपति विद्यादेवी भण्डारीसँग सपथ ग्रहण गर्ने कार्यक्रम रहेको संघीय संसदका प्रवक्ता भरतराज गौतमले जानकारी दिनुभयो ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको पहिलो बैठक सोमबारका लागि आह्वान गरेपछि आइतबार सांसदको सपथ ग्रहण हुन लागेको हो । संघीय संसद सचिवालयले आइतबार हुने सपथ र भोली बस्ने पहिलो बैठकको सबै तयारी पूरा भएको जनाएको छ ।

प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाको अध्यक्षको चुनाव नभएसम्म बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले गर्नेछन् । राष्ट्रियसभामा मनोनीत सदस्य डा युवराज खतिवडा, रामनारायण बिडारी र डा विमला पौडेललाई तत्कालका लागि शपथ रोक्न सर्वाेच्च अदालतले फागुन १३ गते अन्तरिम आदेश दिएकाले उहाँहरूको शपथ अनिश्चित छ ।

सर्वोच्च अदालतले यो मुद्दामा आइतबार सुनुवाई राखेकाले सपथ ग्रहण सुरु हुनु अगावै सर्वोच्चले सरकारले गरेको राष्ट्रियसभाको मनोनयनलाई कानुनसम्मत ठहर्याए तीनजनाले पनि आइतबार नै सपथ ग्रहण गर्न पाउनेछन् । कैलालीबाट प्रतिनिधिसभा सदस्य रहेका रेशम चौधरी र किर्ते प्रकरणमा छानबिन खेपिरहेका नवराज सिलवालका बारेमा कुनै निकायबाट लिखित जानकारी नआएकाले उहाँहरू आएमा शपथ लिन सक्ने संघीय संसद सचिवालयका प्रवक्ता गौतमले बताउनुभयो ।

प्रतिनिधिसभामा २ सय ७५  जना सांसद रहेकोमा रेशम चौधरी पुर्पक्षका लागि थुनामा हुनुहुन्छ । त्यस्तै, राष्ट्रियसभाका ५९ सदस्यमध्ये सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गरेका तीनजनाको सपथ हुने नहुने अनिश्चित रहेकाले कम्तिमा ३ सय ३५ जना सांसदको सपथ ग्रहण हुन लागेको हो ।

प्रतिनिधिसभामा ३८ र राष्ट्रियसभामा ६ जनाले मातृभाषामा सपथ ग्रहण गर्ने सचिवालयले जनाएको छ । संघीय संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले भोजपुरी, मैथिली, अवधि, तामाङ, थारु, मगर र हिन्दी भाषामा शपथ लिन ४४ जना सांसदले लिखित जानकारी गराएको बताउनुभयो । सपथ ग्रहणका लागि दौरा सुरुवाल, सारी चोलो वा आफ्नो पहिचान झल्काउने जातीय भेषभुषा लगाउन सकिने उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्