कुस्म । आफनी प्रेमिकाले गर्भवती भएको खुलासा गरेपछि प्रेमिकालाई हत्या गर्ने पर्वतका एक युवालाई पर्वत जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
पर्वतको विहादी गाउँपालिका–२, बर्राचौरका २३ वर्षीय प्रदीप पराजुलीलाई अदालतले थुनामा राख्ने आदेश जारी गरेको हो । बागलुङ जैमुनी नगरपालिका–८, घर भएकी २२ वर्षीय कमला शर्मालाई उनैले लगाएको सलले घाँटी बाँधेर पराजुलीले कालीगण्डकी नदीमा बगाएका थिए ।
गएको ५ माघमा शर्मा र पराजुली पर्वत र गुल्मी जिल्लाको सीमाना जोड्ने कालीगण्डकी पूर्तिघाट झोलुङ्गे पुलमा सँगै भेट भएका र युवतीले पराजुलीको सम्बन्धबाट आफू गर्भवती भएको भन्दै तत्काल विवाह गर्न अनुरोध गरेपछि पराजुलीले युवती शर्माको प्रस्तावलाई अस्वीकार गर्दै हत्या गरेको प्रहरीले जनाएको थियो ।
पराजुलीले परिवारसामु आफैले हत्या गरेको बताएपछि उनी प्रहरी हिरासतमा पुगेका थिए । प्रहरीसमक्ष समेत पराजुलीले आफैले मारेको बयान दिएपछि प्रहरीले पर्वत जिल्ला अदालतमा कर्तव्य ज्यान अन्तर्गत मुद्धा दायर गरेको थियो ।
सोही मुद्धा उपर थप अनुसन्धानका लागि भन्दै पर्वत जिल्लाका जिल्ला न्यायधिश धु्रबप्रसाद सापकोटाको इजलासले पराजुलीलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश जारी गरेको हो ।
पराजुलीले अदालती बयानका क्रममा समेत आफूले प्रेमिकाको हत्या गरेको स्वीकार्दै पश्चाताप महसुस गरेको स्रोतले जनाएको छ । उनी अहिले पर्वत जिल्ला कारागारमा पूर्पक्षका लागि थुनामा छन् ।
माघ ५ गतेदेखि युवती हराएपछि पीडित परिवारले करिब ५ दिनपछि १० माघमा जिल्ला प्रहरी कार्यालय बागलुङमा खोजतलासका लागि उजुरी दिएका थिए । जिल्ला प्रहरी कार्यालय बागलुङसहित जिल्ला प्रहरी कार्यालय पर्वत र जिल्ला प्रहरी कार्यालय गुल्मी मातहतका प्रहरी इकाइहरुबाट खोजतलास गर्दा उनको शव गुल्मीको कालीगण्डकी गाउँपालिका–४, घुमाउनेमा १७ माघमा फेला परेको थियो ।