चितवन । आफ्नै श्रीमतीलाई वेश्यावृत्तिमा लगाउने श्रीमान् पनि हुन्छन् ? यस्तो कुरा विश्वास गर्न गाह्रो पर्छ । तर, चितवनमा यस्तो जघन्य अपराध भएको छ ।
दक्षिण चितवनको माडी नगरपालिका–६ का ३१ वर्षीय राजु काफ्लेले आफ्नै श्रीमतीलाई दैनिक वेश्यावृृत्तिमा पठाइ आम्दानीको स्रोत बनाउने गरेको कर्कुतबारे पीडित श्रीमतीले नै मुख खोलेपछि घटना सार्वजनिक भएको हो ।
अभियुक्त काफ्लेले २१ वर्षीया श्रीमतीलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाएको मुद्दामा चितवन अदालतले आइतबार ११ वर्ष कैद सजाय सुनाएको छ ।
न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले कैदसँगै अभियुक्त राजुसँग ५५ हजार जरिवाना असुल गर्नुपर्ने र २५ हजार रुपैयाँ पीडित श्रीमतीलाई क्षतिपूर्ति भराउनु पर्ने फैसलासमेत गरेको छ ।
विभिन्न होटलमा राखेर यौन व्यापार गर्न बाध्य बनाएको भन्दै पीडित युवतीले गत साउन १७ गते जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएकी थिइन् ।
पीडित महिलाको पक्षबाट मुद्दा लडेकी महिला अधिकारकर्मी अधिवक्ता फूलमाया रानाभाटले मानव बेचबिखन तथा ओसारपोसार ऐन–२०६४ को दफा ४ (ख) बमोजिम मुद्दा दर्ता भई ऐनको दफा १५ (ख) बमोजिम ११ वर्षको कैद सजाय भएको जानकारी दिइन् ।
मानव बेचबिखनअन्तर्गत १० वर्ष र संरक्षकको हैसियतमा रहने श्रीमान्बाटै उक्त जघन्य अपराध भएको ठहर भई थप एक वर्ष गरी कूल ११ वर्ष कैद सजाय अदालतबाट फैसला भएको उनले जानकारी दिइन् ।
यसैबीच, घटनाकी पीडित महिलाले आफूले न्याय पाएको बताएकी छन् । माडी घर भई हाल भरतपुर महानगरपालिका–७ पिपलचोकमा डेरा गरी बस्ने श्रीमान्ले नै आफूलाई दैनिक रातको समयमा नारायणगढ र भरतपुरका विभिन्न होटलमा लगेर वेश्यावृत्तिमा लगाउने गरेको पीडितले बताइन् ।
उनीहरुको पाँच वर्षको छोरा छ । छोरा हजुरबुबुा हजुरआमासँग माडीमै बस्दै आएका छन् ।
पीडित युवतीले भनिन्, “हरेक दिन बिहान मैले उनलाई रातभरीको कमाइको हिसाबकिताब बुझाउनु पथ्र्यो । आफ्नै श्रीमान्बाट जबर्जस्ती यौन धन्दामा लाग्नुपरेको पीडामा आज मल्हम लागेको महसुस भएको छ ।”
घटनाको विषयमा कसैलाई भने मार्नेसम्मको धम्की श्रीमान्ले दिने गरेको पीडित महिलाले अदालतमा दिएको बयानमा उल्लेख छ ।
पीडित महिलाकै चिनजानकी दिदीले बहिनीको गतिविधि शंकास्पद लागेपछि धेरै समयको सोधपुछबाट मात्र घटना सार्वजनिक भएको हो । माइतीको अवस्था कमजोर भएकाले आफूले घटना बाहिर ल्याउन नसकेको पीडित महिलाले बताइन् ।
पीडित युवतीलाई आदर्शगृहमा आश्रय
पीडित युवती हाल भरतपुरस्थित आर्दशगृहमा रहेकी छन् ।आदर्श गृहकी अध्यक्ष मीना खरेल भन्छिन्, “घटना हामीले थाहा पाउनेबित्तिकै आर्दशगृहमा ल्याएर संरक्षण दिएका छौँ ।”
-बारखरीको सहयोगमा