पूर्वाञ्चलनमा एक वर्षमै घट्यो चार प्रतिशत विद्युत् चुहावट

पूर्वाञ्चलनमा एक वर्षमै घट्यो चार प्रतिशत विद्युत् चुहावट

डेढ वर्ष पहिलेसम्म विद्युत् चुहावट र विद्युत्भार कटौतीका कारण हैरानी खेपेका नेपालीले पछिल्ला दिनमा सहज अनुभव गर्न थालेका छन् ।

विद्युत्भार कटौतीको अन्त्यपछि विद्युत् चोरी र चुहावट नियन्त्रणमा नेपाल विद्युत् प्राधिकरणले आक्रामक रुपमा कारवाही शुरु गरेपछि सकारात्मक परिणाम प्राप्त हुन थालेको हो ।

प्राधिकरणले पछिल्लो एक वर्षमा मात्रै देशभर कम्तीमा पाँच प्रतिशत चुहावट नियन्त्रण गरेको छ । प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको माघसम्ममा प्रदेश नं १मा विद्युत् चुहावट करिब चार प्रतिशत घटाइएको छ ।

प्राधिकरण पूर्वाञ्चल क्षेत्रीय कार्यालयअन्तर्गतका १७ वितरण तथा ग्राहक सेवा केन्द्रले आव २०७३÷७४मा रहेको १७.६५ प्रतिशत चुहावटलाई गत माघसम्म ३.९१ प्रतिशतले घटाएर १३.७४ प्रतिशत कायम गरेको छ ।

क्षेत्रीय कार्यालयअन्तर्गतको वितरण प्रणालीमा माघसम्ममा ५५ करोड १० लाख युनिट विद्युत् प्रवाह भएकामा ४७ करोड ५३ लाख युनिट बिक्री भएको छ । प्रणालीबाट सात करोड ५७ लाख युनिट ऊर्जा चुहावट भएको प्राधिकरणले जनाएको छ ।

विराटनगर वितरण केन्द्रले १४.०५ प्रतिशत रहेको चुहावटलाई ४.२१ प्रतिशतले घटाएर ९.८४ प्रतिशत कायम गरेको छ । दुहवी वितरण केन्द्रको ८.९५ प्रतिशत चुहावटलाई ३.०७ प्रतिशतले घटाएर ५.८८ प्रतिशत कायम गरेको छ । विराटनगर र दुहवी कार्यालयअन्तर्गत ठूला औद्योगिक ग्राहक छन् । उद्योग प्रतिष्ठानमा समेत ती वितरण केन्द्रमार्फत नै विद्युत् उपलब्ध गराउने गरिएको छ ।

प्राधिकरणका अनुसार दमक वितरण केन्द्रले ४.७३ प्रतिशतले चुहावट घटाएको छ । मोरङको रंगेली वितरण केन्द्रको चुहावट भने अझै ३२.३० प्रतिशत छ ।

गत असारसम्ममा ३६.४२ प्रतिशत चुहावट रहेको चालू आवको माघसम्ममा ४.१२ प्रतिशतमात्रै घटेको छ । इनरुवा वितरण केन्द्रको ३६.५९ प्रतिशतको चुहावट १०.०७ प्रतिशतले घटेर २६.५२ प्रतिशत कायम भएको छ ।

यसैगरी वेलबारी वितरण केन्द्रको २६.१३ प्रतिशत चुहावट १.२४ प्रतिशतले घटेर २४.८९ प्रतिशतमा झरेको छ ।

विद्युत् चोरी नियन्त्रणका लागि चालिएको प्रभावकारी कदम तथा निरन्तरको प्रयासका कारण पनि चुहावट नियन्त्रण प्रभावकारी रुपमा घटाउन सकिएको हो । यस्तै ट्रान्सफर्मर तथा वितरण लाइनको सदृढीकरण, केन्द्र प्रमुखसँग गरिएको कार्यसम्पादन सम्झौतालगायतका कारण चुहावट घटाउन सकिएको प्राधिकरण प्रदेश नं १ का प्रमुख सच्चितानन्द यादवले जानकारी दिनुभयो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार चोरी नियन्त्रण तथा बक्यौता असुली अभियानले गैरप्राविधिक चुहावटमा कमी आएको र विद्युत्भार व्यवस्थापनमा समेत सहज भएको छ ।

प्राधिकरणले ओभरलोडमा रहेका सबै ट्रान्सफर्मर परिवर्तन गरिरहेको प्राविधिक चुहावटसमेत क्रमिक रुपमा कमी आइरहेको छ ।

कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, “अझै चुहावट नियन्त्रणको अभियानलाई हामी सशक्त रुपमा अगाडि बढाउँछौँ ।”

चुहावट नियन्त्रणमा स्थानीय तहका सरकारको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उहाँले प्राधिकरणको अभियानमा सहयोग गरिदिन सबै जनप्रतिनिधिलाई आग्रह गर्नुभएको थियो ।

पूर्वाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख यादवले गर्मीयाम शुरु भएसँगै चुहावट नियन्त्रणमा चुनौती थपिने गुनासो गर्नुभयो ।

“माघसम्मको तथ्याङ्क हेर्दा विद्युत् चुहावट नियन्त्रणका लागि हामीलाई दिइएको लक्ष्यभन्दा कम छ तर गर्मी शुरु हुनासाथ क्षेत्रीय कार्यालय मातहत रहेको ट्रान्सफर्मर र ३३ केभी प्रसारण लाइनमा ओभरलोड हुँदा नियन्त्रणमा चुनौती थपिन्छ”, प्रमुख यादवले भन्नुभयो ।

सो क्षेत्रीय कार्यालयको आव २०७३÷७४ मा १७.६५ प्रतिशत चुहावटलाई घटाएर १४ प्रतिशतमा झार्ने लक्ष्य छ ।

गत असारसम्म प्राधिकरणको केन्द्रीय प्रणालीमा २२.९ प्रतिशत विद्युत् चुहावट छ । चालू आवमा यसलाई घटाएर २० प्रतिशतमा झार्ने लक्ष्य तय गरिएको छ ।

तीन वर्षभित्रमा प्रणालीमा रहेको चुहावटलाई १५ प्रतिशतमा झार्ने लक्ष्य रहेको प्राधिकरणले जनाएको छ । प्रणालीमा रहेको चुहावटमध्ये वितरणतर्फ रहेको १६.८२ को चुहावटलाई चालू आवमा ३.६४ प्रतिशतले घटाएर १३.१८ प्रतिशतमा झार्ने प्राधिकरणको भनाइ छ ।

केन्द्रले असारसम्मको २३.२२ प्रतिशतको चुहावटलाई घटाएर १८.४९ प्रतिशतमा झारेको हो । यसैबीच सोही वितरण केन्द्रअन्तर्गत रहेको झापाको कन्काई नगरपालिकालाई विद्युत् चुहावटमुक्त नगर घोषणा गरिसकिएको छ । -न्युज २४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्