विराटनगर ६ चैत । पूर्व राजा ज्ञानेद्र शाह विराटनगर आउने हुनुभएका छन् । उहाँका परिवार सहित विराटनगरमा आउन लाग्नु भएको हो ।
पूर्वका विभिन्न मन्दिरहरुमा पुजापाठ र दर्शनका लागि हिंडिरहनु भएका पूर्व राजा ज्ञानेन्द्रको कार्यक्रम ब्यवस्थापनको लागि मोरङ पूर्व जिविसका सभापति बल्लभप्रसाद दाहालको अध्यक्षतामा दुई सय २७ सदस्यीय समिति बनाईएको छ।
समितिमा पूर्व उपप्रधानमन्त्री बद्रीप्रसाद मण्डल लगायत रहेका छन् । केही दिनदेखि झापाको दमकमा रहनु भएका पूर्व राजा शाह पत्नी कोमलसहित रामनवमीको अवसर पारेर आगामी आइतबार विराटनगर आउने कार्यक्रम तय भएको हो ।
दाहालका अनुसार शाह दम्पतीले विराटनगरको काली मन्दिर, रामजानकी लगायतका मन्दिरको दर्शन गर्ने कार्यक्रम तय भएको छ । दमकबाट विराटचोक, हरैंचा, झोराहाट हुँदै शाह आइतबार दिउँसो ३ बजे विराटनगर आउने कार्यक्रम छ । दुई घण्टा विराटनगरमा रहेर साह साँझ ५ बजे दमक नै फर्कने दाहालले जानकारी दिनुभयो । पूर्व राजाको भ्रमणमा सुरक्षा व्यवस्था कडा पार्न र आवश्यक सुरक्षा प्रबन्ध मिलाउनका लागि सुरक्षा निकायसंँग आग्रह गरिने उहाँले बताउनु भयो ।