विराटनगरमा रात्रिकालीन हुने अन्तराष्ट्रिय विराट गोल्ड कपको काम तिव्र बनाईदै..

विराटनगरमा रात्रिकालीन हुने अन्तराष्ट्रिय विराट गोल्ड कपको काम तिव्र बनाईदै..

प्रेम देवान
विराटनगर ९ चैत । अबको एक सातापछि एक नम्बर प्रदेशको राजधानी विराटनगरमा हुन लागेको रात्रिकालीन अन्तराष्ट्रिय विराट गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्नका लागि व्यवस्थापनका ८० प्रतिशत काम सम्पन्न भईसकेको आयोजकले जनाएको छ । गोल्डकप आयोजक समितिका अध्यक्ष नविन रिजालका अनुसार प्रतियोगिताका लागि मैदानदेखि लिएर व्यवस्थापन सम्बन्धी ८० प्रतिशत काम सम्पन्न भईसकेको छ ।
उनले भने ‘प्याराफिड डिभाईड, मैदान तयार, प्रवेशद्धार निर्माण, भीआईपी लाउन्ज, रातिका लागि लाइट र सीसी क्यामेरा जडान, स्टेज सजावट लगायतका धेरै काम भइसकेका छन् ।’ प्रतियोगिताको पाँचौं संस्करण यही चैत १७ देखि २६ गते सम्म आयोजना हुँदैछ ।
खेलाडी र दर्शकको सुरक्षाका लागि सहिद मैदान र वरपरका स्थानमा सीसी क्यामेरा जडानको कामलाई पनि तीव्र पारिएको आयोजक समितिका उपाध्यक्ष सन्तोष वानियाले जानकारी दिनुभयो ।
विराटनगरको इज्जतसंग जोडिएको गोल्डकपलाई व्यवस्थित रुपमा आयोजना र सम्पन्न गर्नका लागि २६ वटा उपसमितिहरु गठन गरिएका छन् । प्रतियोगिताका लागि मुल आयोजक समिति र उपसमितिहरुले सक्रियता बढाएको जनाईएको छ। प्रतियोगिताका लागि नेपालका सात र विदेशका तीन गरेर १० वटा टिमले सहभागिता जनाएको छ ।
पहिलो पटकको रात्रीकालीन फुटबलले रौनक थप्ने
मोफसलमा पहिलो पटक रात्रिकालीन फुटबल आयोजना विराटनगरमा हुन लागेको हो । अध्यक्ष रिजालका अनुसार फ्लडलाइट म्याच खेलाएर ऐतिहासिक गोल्डकपलाई नयाँ ढंगले संचालनको जमर्को गरिएको हो । रात्रिकालीन खेल खेलाउन टावरलाइट जडानको काम भइरहेको उनले बताए । ‘प्रतियोगिताका लागि छ वटा प्रकास वत्तीको आवश्यक पर्छ,’ रिजालले भन्नुभयो, ‘शुक्रबार सम्ममा चारवटा जडान गरिसकिएको छ ।’
गोल्डकपमा उद्धघाटनका दिन ५ः३० बजेदेखि र त्यसपछि प्रत्येक दिन ६ बजेपछि खेल खेलाइने छ । आयोजकले दर्शकलाई आकर्षित गर्नकै लागि रात्रिकालीन खेल खेलाउन लागिएको जनाएको छ ।

सबैभन्दा बढी राशिको पुरस्कार

यस वर्षको प्रतियोगितामा विजेताले १२ लाख ७१ हजार र उपविजेताले पाँच लाख ५१ हजार रुपैयाँ नगद राशिको पुरस्कार प्राप्त गर्ने छन् । प्रत्येक दिनको खेलमा म्यान अफ दी म्याच हुने खेलाडीलाई १० हजार रुपैयाँ नगद र शील्ड प्रदान गरिने छ । म्यान अफ दी टुर्नामेन्ट हुने खेलाडीले मोटरसाइकल पाउने छन् । उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, मिड फिल्डर, डिफेन्स, फरवार्ड, टिम व्यवस्थापक एवं सर्वाधिक गोलकर्ता र टिम मध्येका उत्कृष्ट सबैलाई २५÷२५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जानकारी रिजालले दिनुभयो । सहभागी सबै टिमलाई प्रोत्साहन पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ । आयोजकले प्रतियोगितामा एक करोड तीन लाख रुपैयाँ आम्दानी र एक करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।

महिलाकोे लागि छुट्टै बस्ने व्यावस्था
मोफसलमा पहिलो पटक रात्रिकालीन फुटबल आयोजना हुन लागिरहेको बेला सहिद रङ्गशालामा महिलाहरुको लागी अलग्गै बसेर हेर्न सक्ने व्यावस्था मिलाएको छ । सहिद मैदानको प्याराफिटमा एक स्थानमा महिलाहरुको लागि सुरक्षाको दृष्टिकोणले अलग्गै हेर्न व्यावस्था मिलाएको आयोजकले जनाएको छ । महिलाहरु बसेको स्थानबाट कुनै पनि पुरुषहरु बस्न मिल्ने छैन । तर कुनै महिलाहरु आफन्तसँग बसेर हेर्नको लागी भने व्यावस्था मिलाईएको आयोजक समितिका अध्यक्ष नविन रिजालले जानकारी दिनुभयो ।
यस पटक लगभग १० हजार दर्शक आउने अनुमान गरिएको छ । रातीको समय भएका कारण सबैजना फुर्सदमा हुने भएका कारण अझ पहिलेको भन्दा बढि दर्शक आउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्