उदयपुर, १० चैत । उदयपुरको कटारीमा शनिबारबाट सुरु भएको चौथो कटारी गोल्डकपको उद्घाटन खेलमा साहारा क्लब पोखरा विजयी भएको छ । घरेलु टिम कटारी ११ लाई २–० ले पछि पार्दै साहाराले आफ्नो सेमिफाइनलको यात्रा तय गरेको हो । साहाराका लागि खेलको ७ औँ र ८३ औँ मिनेटमा अजित गुरुङ्गले आकर्षक गोल गर्दै आफ्नो टिमलाई सेमिफाइनलमा प्रवेश गराएका हुन् ।
निकै रोचक र प्रतिस्पर्धात्मक खेलमा आयोजक टिमले गोल गर्ने पटक–पटक अवसर पाए पनि गोलमा परिणत गर्न सकेन । उद्घाटन खेलको म्यान अफ् द म्याच सहाराकै गोलकर्ता अजित भए । उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
प्रतियोगिता अन्तर्गत आइतबारको खेल बनेपा ब्वाइज काभ्रे र गाोर्खा ब्वाइज रुपन्देहीबीच हुनेछ । गोल्डकपको उद्घाटन उदयपुर प्रतिनिधि सभा २ का सांसद सुरेशकुमार राईले गर्नुभएको थियो । प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले दुई लाख पचास हजार नगद पुरस्कार, शिल्ड र प्रमाणत्र पाउनेछन् ।
कटारी नगरपालिकाको प्रायोजन र साथी समूह कटारीको सहयोगमा गोल्डकप सञ्चालन भएको हो । कटारी मेयर गोल्डकप जिल्लाकै अहिलेसम्मकै सबैभन्दा ठूलो राशी भएको गोल्डकप हो ।