एमाले–माओवादी एकीकरण प्रक्रिया अन्तिम चरणमा

एमाले–माओवादी एकीकरण प्रक्रिया अन्तिम चरणमा

सुरेशकुमार यादव, काठमाडौँ, चैत १४ गते । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच हुन लागेको एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेको छ । एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणअघि नै पार्टी एकता गर्ने गरी तयारी भइरहेको नेताहरूले बताउनुभएको छ । पार्टी एकताका लागि दुईवटा कार्यदल र त्यसका उपसिमितिले काम गरिरहेका छन्  ।
माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले पार्टी एकता प्रक्रिया अन्तिम चरणमा पुगेको बताउँदै छिट्टै घोषणा गर्ने गरी तयारी भएको बताउनुभयो । उपसमितिहरूले तयार गरेका प्रतिवेदनका आधारमा कार्यदलहरूले आ–आफ्नो काम अन्तिम चरणमा पु¥याएका छन् । कार्यदलहरूले आआफ्नो प्रतिवेदन तयार गरिसकेपछि एकता संयोजन समितिलाई बुझाउनेछ । एकता संयोजन समितिले त्यसलाई अन्तिम रूप दिई एकताका लागि पार्टीमा बुझाउनेछ  ।
विधान तथा राजनीतिक प्रतिवेदनको काम अन्तिम चरणमा पुगेको छ । चैत १५ गते एकता संयोजन समितिलाई प्रतिवेदन बुझाउने पौडेलले बताउनुभयो । एमालेको जबज र माओवादी केन्द्रको माओवादी सिद्धान्तलाई महाधिवेशनसम्म थाती राखेर अहिलेलाई माक्र्सवाद–लेलिनवादलाई मूल सिद्धान्त मान्दै पार्टी एकता घोषणा गर्ने कुरा भएको उहाँले जानकारी दिनुभयो । पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी नेपाल रहनेछ ।

यता सङ्गठनसम्बन्धी कार्यदलले पनि आफ्नो छलफललाई तीव्रता दिए पनि टुङ्गो भने लागेको छैन । पदाधिकारी, केन्द्रीय समिति, स्थायी समिति, पोलिटब्युरो, प्रदेश, जिल्लासहित तल्ला समितिको सङ्ख्या कति राख्ने भन्ने विषयमा कार्यदलमा छलफल सुरु भए पनि टुङ्गो भने लागेको छैन । कार्यदलका सदस्य बेदुराम भुसालका अनुसार प्रतिवेदनलाई अन्तिम रूप दिन अझै चार–पाँच दिन लाग्ने बताउनुभयो । एकताको काम चाँडो सम्पन्न गर्ने गरी काम भइरहेको बताउँदै उहाँले दुवै पार्टीको साङ्गठनिक ढाँचा र जनवर्गीय सङ्गठनका बारेमा अध्ययन भइरहेको बताउनुभयो ।
दुवै पार्टीका अध्यक्षले पालैपालो पार्टीको अध्यक्षता गर्ने गरी सहमति भए पनि कार्यसमिति कति सदस्य राख्ने सहमति बन्न सकेको छैन । एकीकृत पार्टीको केन्द्रीय समिति तीन सय जनाभन्दा बढीको हुनेछ भने पोलिटब्युरोमा झन्डै एक सय सदस्य र स्थायी समितिमा ३५ सदस्य राख्ने गरी छलफल भइरहेको स्रोतले जनाएको छ ।
तर भुसालले विभिन्न कोणबाट छलफल भए पनि सङ्ख्याका बारेमा विस्तृत छलफल नभएको बताउनुभयो । दुईवटै पार्टीका निजामती कर्मचारी, चिकित्सक, शिक्षक, स्वास्थ्यकर्मी, प्राध्यापक, वकिल, पत्रकारलगायत पेसागत सङ्गठनलाई एउटै महासङ्घमा राख्ने छलफल चलिरहेको कार्यदलका एक जना सदस्यले बताउनुभयो ।
सङ्गठनसम्बन्धी कार्यदलमा माओवादी केन्द्रको तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेता जनार्दन शर्मा, वर्षमान पुन, गिरिराजमणि पोखरेल, मातृका यादव र एमालेको तर्फबाट ईश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, बेदुराम भुसाल र रघुवीर महासेठ सदस्य रहनुभएको छ ।
त्यस्तै विधान तथा राजनीतिक प्रतिवेदनसम्बन्धी कार्यदलमा एमालेका तर्फबाट माधवकुमार नेपाल, भीम रावल, प्रदीप ज्ञवाली, रघुजी पन्त र सुवास नेम्बाङ सदस्य रहनुभएको छ भने माओवादी केन्द्रका तर्फबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, पम्फा भुसाल र देवेन्द्र पौडेल सदस्य रहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्