विरानगरमा भीष्मको ‘आधा उज्यालो’ कवितासङ्ग्रहको परिचर्चा

विरानगरमा भीष्मको ‘आधा उज्यालो’ कवितासङ्ग्रहको परिचर्चा

विराटनगर, १६ चैत ।
कवि भीष्म उप्रेतीको कवितासङ्ग्रह ‘आधा उज्यालो’को शुक्रबार विराटनगरमा परिचर्चा गरिएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा उप्रेतीको नवौं कवितासङ्ग्रह ‘आधा उज्यालो’माथि परिचर्चा गरिएको हो । तीन दशकभन्दा लामो समयदेखि साहित्यमा सक्रिय उप्रेतीको ‘आधा उज्यालो’लाई सारांश नेपालले प्रकाशित गरेको हो । सङ्ग्रहबारे कवि मनु मञ्जिल र सीमा आभासले धारणा राखे । भीष्मको शैली आफैंमा लोभलाग्दो किसिमको भएको कवि मनु मञ्जिलले चर्चा गर्नुभयो । ‘भीष्म उप्रेतीका भाषा सरल र जीवनको तेजले भरिएका छन्,’ मनुले भन्नुभयो, ‘औसत जीवन हेरेर अचानक परिष्कृत र असाधारण अभिव्यक्ति दिनमा कवि उप्रेती क्षमतावान लाग्छन् ।’
नेपाली कविता साहित्यमा उप्रेतीले आफ्नो छुट्टै पहिचान स्थापित गरेको उनको भनाइ थियो । प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा कवि सीमा आभासले ‘आधा उज्यालो’ सङ्ग्रहका कविताले पाठकलाई सहजै तान्ने बताउनुभयो । उहाँले उप्रेतीका कविता पढ्दा रसबरी चपाएजस्तो महसुस हुने विचार ब्यक्त गर्नभयो । कवि उप्रेतीले ‘मृगतृष्णा’, ‘पानी’, ‘स्वतन्त्रता’, ‘मित्र’, ‘पवित्र वागमती नदी’, ‘रहर’, ‘दृश्यचित्र’ र ‘भूल’ शीर्षक कविता वाचन गरे । काठमाडौं बसेर साहित्य सिर्जनामा सक्रिय उप्रेतीका कविता, निबन्ध, नियात्रा र उपान्यास गरी १८ वटा कृति प्रकाशित छन् । कार्यक्रममा साहित्यकार दधिराज सुवेदी, कविराज न्यौपाने, नारायण तिवारीलगायतले सङ्ग्रहका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्