विराटनगर, २० चैत ।
एक नम्बर प्रदेश सरकारले चालु आर्थिक वर्षको लागि बजेट ल्याउने अन्तिम गृहकार्य शुरु गरेको छ । चालु वर्षको ३ महिनाको लागि बजेट ल्याउने अन्तिम तयारीमा जुटेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । संसदबाट सोमबार आर्थिक कार्यविधि बिधेयक २०७४ ऐनको रुपमा आएसँगै प्रदेश सरकारलाई बजेट ल्याउन बाटो खुलेको हो ।
यसअघि प्रदेश सरकारले चैत १५ मा बजेट ल्याउने निर्णय गरेको भएपनि तयारी पुरा नहुनु तथा आर्थिक कार्यविधि बिधेयक पारित हुन ढिलाई हुनु जस्ता कारणले बजेट आउन सकेको थिएन । तर अब चैत २९ गते बजेट ल्याउने तयारी भईरहेको आर्थिक मामिला मन्त्रालयले जनाएको ।
चालुखर्चमै केन्द्रित रहेर आउने बजेटमा १४ वटै जिल्लाका सबै निर्वाचन क्षेत्रमा प्रदेश सरकारको उपस्थितिको अनुभूति गर्नेगरी विकासको योजना पनि समेटिने आर्थिक मामिलामन्त्री मन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।
मन्त्री आङ्बोले बजेटमा ५० प्रतिशत पूँजीगत कार्यक्रम समावेश गर्ने पहल भइरहेको जानकारी दिए । आर्थिक मामिला मन्त्रालयले सबै विषयगत मन्त्रालयसँग बजेटमा समेट्नुपर्ने कार्यक्रमको विवरण माग गरेको जनाएको छ । यस्तै प्रदेशका सांसदसँग पनि योजना माग गरिएको र बजेटबारे विज्ञहरुसँग पनि परामर्श गरेर तयारी अगाडि बढाईएको छ ।
प्रदेश सरकारले घोषणा गरेको सय दिने कार्यक्रममा परेका योजना र पहिलो मन्त्री परिषदको बैठकले गरेको निर्णय कार्यान्वयमा गर्न पनि बजेट बिनियोजनको तयारी भएको बताईन्छ ।
मन्त्रीपरिषदको पहिलो बैठकले प्रदेश १ का १४ जिल्लामा ‘शहीद नमुना वस्ती’ निर्माण गर्ने निर्णय गरेको थियो ।
यसैगरी नयाँ आर्थिक वर्ष साउनमा सुरु हुने र त्यसअघि नै बाढी तथा पहिरोको समस्या सुरु हुने भएकोले यो बजेटमा उद्धार तथा राहतको लागि रकम विनियोजन गर्ने तयारी छ । अहिले बजेट ल्याउन सके बाढी, कटान र पहिरोको रोकथाममा प्रदेश सरकारले काम गर्न सक्ने मन्त्रालय स्तरबाट जानकारी दिईएको छ ।
बजेटको लागि संघीय सरकारले प्रदेशलाई दिएको अनुदान १ अर्ब २ करोडभित्रै सिमित रहने या त्यसमा बृद्धि गर्ने भन्ने टुंगो लागिसकेको छैन । थप बजेटको लागि संघीय सरकारसँग मुख्यमन्त्री र आर्थिक मामिला मन्त्रीले पहल भईरहेको बताइन्नछ ।