काठमाडौं । विभिन्न ठाउँमा आक्रमण गरीरहेका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ मस्ट वान्टेड सूचीमा राखिएका छन् ।
प्रहरी प्रधान कार्यालयले देशभर सर्कुलर जारी गरी विप्लवलाई जहाँ भेट्यो त्यहिँ पक्राउ गर्न भनेको छ । प्रहरीले अदालतको आदेशका आधारमा यस्तो सर्कुलर जारी गरेको हो । जिल्ला अदालत भोजपुरले ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थको कसुरमा विप्ललाई पक्राउ पुर्जी जारी गरेको थियो ।
प्रहरी प्रवक्ता डिआइजी मनोज नेउपानेले अदालतको आदेश भएका जसलाई पनि पक्राउ गर्न सकिने बताउँदै विप्लवका हकमा पनि त्यहि लागु हुने बताए ।
१० मंसिरमा विप्लवलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश भएको थियो । प्रहरीले उनलाई पक्राउ गर्न नसकेका कारण फरार सूचीमा राखिएको छ ।
अदालतकै आदेशपछि प्रहरीले विप्लवका दाई चन्द्रबहादुर चन्दको कपिलवस्तुस्थित शिवराज नगरपालिका ९ स्थित घरमा पक्राउ पूर्जी टाँसेको थियो । अहिले विप्लव भूमिगत छन् । रोल्पाबाट विप्लवको पार्टीले जनअदालतको निर्णय भन्दै प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पक्राउ पूर्जी जारी गरेको भन्दै विज्ञप्ति निकालेपछि सरकार आक्रामक भएको छ ।