बिराटनगरमा सडक निर्माणको काम अब रातमा पनि गरिने

बिराटनगरमा सडक निर्माणको काम अब रातमा पनि गरिने

ध्रुव भट्टराई/ विराटनगर, चैत २१ । व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडक निर्माण सुस्त भएपछि सर्वसाधारणले सास्ती व्यहोर्नु परेको छ ।

निर्माणाधीन सडक र यसको दुवैतर्फ खनेको नालाले सर्वसाधारण समस्या परेका हुन् । तर अब प्रदेश सरकारले सडक निर्माणको काम तीब्र पार्न राति पनि काम गराउने तयारी गरेको छ ।

प्रदेश नम्बर १ को मन्त्रिपरिषदको बैठकले रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडक निर्माण तिब्र पार्नका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयोजकत्वमा अनुगमन समिति निर्माण गरेको थियो । उक्त समितिले गत सोमबार सडकको अनुगमन गर्दै सडक निर्माणलाई तीब्रता दिने जनाएको छ ।

अनुगमन टोलीमा सहभागी प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सडक निर्माणमा भइरहेको समस्याको विषयमा जानकारी लिएर आवश्यक पहलकदमी लिइने जनाए ।

ठेक्कामा लागेका सडक निर्माणमा समयमै रकम निकासा नहुँदा समस्या भएको पूर्वाञ्चल क्षेत्रीय सडक निर्देशनालय दमक क्षेत्रीय निर्देशक दीपककुमार भट्टराईले बताए । अझै पनि ४० देखि ४५ करोड रकम निर्माण कम्पनीलाई भुक्तानी गर्न बाँकी रहेको उनको भनाइ छ ।

अनुगमन टोलीले विराटनगरको रानीदेखि सुनसरीको चतरासम्म भइरहेको कामको अनुगमन गरेको थियो । अनुगमनपछि निर्माण व्यवसायीसँग कुरा गर्दै आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले समस्या पहिचान गरि छिट्टै काम अघि बढाउने बताए ।

क्षेत्रीय सडक निर्देशनालयका अनुसार रानीदेखि धरानसम्मको ६ लेन सडक निर्माण सम्पन्न गर्नका लागि १० अर्ब ९६ करोड बजेट लाग्ने अनुमान गरिएको छ । उक्त बजेट अनुसार ७ अर्ब बराबरको काम ठेक्कामा लागिसकेको छ । ठेक्कामा लागेको कामको ३८ प्रतिशत बजेटसमेत खर्च भइसकेको जनाईएको छ ।(इमेजबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्