पुर्वमा धान उत्पादन क्षेत्रको कहालीलाग्दो अबस्था, ५५ प्रतिशतसम्म धान उत्पादन क्षेत्र घट्यो

पुर्वमा धान उत्पादन क्षेत्रको  कहालीलाग्दो अबस्था, ५५ प्रतिशतसम्म धान उत्पादन क्षेत्र घट्यो

विराटनगर, २७ चैत ।
ओखलढुङगाका संसद मोहन कुमार खड्काले गत चैत १९ गते बसेको संसद बैठकमा पहाडी क्षेत्रका आधा दर्जन बढी गाउँपालिका पानीको मुल सुकेपछि समस्यामा परेकोे बारेमा जानकारी गराए । पानीको मुल सुकेर अहिले पहाडी क्षेत्रका नागरिक काकाकुल बन्दै आएका छन् । उनले गरेको आग्रहलाई मात्र हेर्ने हो भने जिल्लाको लिकु, चम्पादेबी, सुनकोशी, मानेभन्ज्याङ, सिरिजंग र चिशंखुगढी गाउँपालिका पानीको अभाव खेप्दै छ । ति क्षेत्रमा नदी किनारका क्षेत्रबाट लिफ्टिङको माध्यामबाट पानीको ब्यवस्था गर्न माग उठि रहँदा बिज्ञहरुले भने पानीको समस्या हुनुको कारण धान खेती घट्नुलाई लिएका छन् । पहाडी क्षेत्रमा लगाईने धानखेती जती घट्दै गएको छ त्यही अनुपातमा पानीको समस्या पनि देखिँदै गएको छ ।
धानका बिशेषज्ञ डा.राजेन्द्र उप्रेतीले पानीको अबस्थालाई सुरक्षित गर्ने काम धान खेती गरेका ठाउँहरुमा हुन्थ्यो । तर अहिले पहाडी क्षेत्रमा धानको क्षेत्रफल घटेकोले त्यसैको असर पानीको अभाव देखिँदै गएको बताए ।
उप्रेतीका अनुसार, सबैभन्दा बढी पानीको समस्यालाई हेर्दा धानखेती कम भएका ठाउँहरुमा पानीको अभाव बढेको छ ।
डा. उप्रेतीको तर्क अरुको भन्दा अलिक फरक छ । पहाडी क्षेत्रमा धान उत्पादनको क्षेत्रफल घट्नुमा पानीको अभाव हुने कतिपय तर्क गर्छन तर त्यसको ठिक उल्टो बिश्लेषण गर्दै उप्रतीले भने, ‘जव मान्छेले धान खेती गर्न छाडे त्यसपछि पानीका मुहानहरु सक्न थाल्यो ।’ पानीको मुहान संरक्षणको काम धान खेतीले गर्ने उनको भनाई छ । खेतका गह्रामा जमाईएको पानीले लामो समयसम्म ति क्षेत्रहरुमा चिस्यान कायम राख्दा मुहान सुक्दैनथ्यो तर अहिले पहाडी क्षेत्रमा धानका गह्रामा पानी जमाउन छाडियो खेतीयोग्य जमिन बाँझै छाडेर मान्छे पलायन हुँदा पानीको पनि अभाव चुलिन थाल्यो यसले मान्छेलाई परनिर्भरता समेत हुन सिकाएको उप्रेतीले बताए ।
क्षेत्रफल यसरी घट्यो
सन् २००२ को तथ्यांकलाई आधार मान्ने हो भने २०१५÷१६ सम्म आईपुग्दा धान उत्पादनको क्षेत्रफल देशभर नै ९ प्रतिशतले घटेको छ । १५ लाख ५४ हजार हेक्टरमा धान खेती हुँदै आएकोमा अहिले त्यो संख्या घटेर १४ लाख २५ हजारमा झरेको छ । देशभरको तथ्यांकलाई आधार मान्दा १ नम्बर प्रदेशमा धान उत्पादनको क्षेत्रफल १५ प्रतिशतले घटेको छ । १० बर्षको अबधिमा १ नम्बर प्रदेशका १४ जिल्लामा सन् २००२का ३ लाख ६६ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा सन् २०१५ मा आईपुग्दा त्यो क्षेत्रफल घटेर ३ लाख १२ हजारमा झरेको छ । सबैभन्दा कम पस्चिमाञ्चलमा २ प्रतिशतले मात्र धानको उत्पादन क्षेत्र घटेको उप्रेतीले जानकारी दिए । त्यस्तै मध्यमाञ्चलमा ११ प्रतिशत, मध्यपस्चिमाञ्चलमा ९ प्रतिशत र सुदुर पस्चिमाञ्चलमा पनि धान उत्पादित क्षेत्र घटेको छ । जहाँ बढी धान खेती भएका छन् ति क्षेत्रमा पानी अभवको समस्या केही मात्रामा कम रहेको उप्रेतीले सुनाए ।
अन्न भण्डार घट्यो
एक नम्बर प्रदेशका झापा, मोरङ र सुनसरी धान उत्पादनमा अब्बल मानिन्छन् । तर ति जिल्लाहरुको अबस्था पनि उस्तै नै छ । अन्न भण्डारको रुपमा लिईएको झापामा धान उत्पादन क्षेत्र १० प्रतिशतले घटेको छ । त्यस्तै सुनसरीमा सबैभन्दा धेरै २७ प्रतिशतले घटेर ६१ हजारबाट ४५ हजारमा झरेको छ । त्यस्तै मोरङमा १३ प्रतिशतले धान उत्पादन क्षेत्र घटेको छ । जसमा ९४ हजार हेक्टरबाट ८२ हजार हेक्टरमा झरेको छ । यी जिल्लाहरुमा पहाडी जिल्लाबाट बसाई सरेर आउने क्रमले गर्दा जग्गामा देखिएको प्लटिङ नै समस्याको रुपमा रहेको पाईएको छ । पहाडी जिल्लामा धान उत्पादित क्षेत्र घट्नुको असर तराईका जिल्लामा पनि त्यही अनुपातमा पारेको देखिन्छ ।
सबैभन्दा बढी तप्लेजुङमा ५५ प्रतिशतले धान उत्पादन क्षेत्र घटेको क्षेत्रीय कृषि निर्देशनालयका वरिष्ठकृषि प्रसार अधिकृत समेत रहेका उप्रतीले जानकारी दिए । उनका अनुसार ८ हजार ९ सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा त्यो घटेर ४ हजार हेक्टरमा सिमित हुन पुगेको छ । दोश्रो नम्बरमा धान उत्पादन क्षेत्र घटाउने जिल्लामा तेह्रथुम जिल्ला पनि परेको छ । यो जिल्लामा ३२प्रतिशतले धान उत्पादन क्षेत्र घटेको हो । ११ हजार हेक्टरमा धान खेती हुँदै आएकोमा त्यो संख्या घटेर ७ हजार ६ सयमा झरेको उप्रेतीको भनाई छ ।
उप्रेती भन्छन्, ’धान खेतीले पानीको संरक्षण गथ्र्यौ, माथि धानखेती हुँदा ती भन्दा तलका क्षेत्रहरुमा पानीमा मुल खुल्थ्यो तर अहिले धान खेती नै हुनछाडेपनि मुल खुल्न छाड्यो ।’
पहाडी क्षेत्रमा मुल फुट्ने अबस्थामा रहेको भएपनि जग्गा बाँझिदा समस्या बिकराल बनेको छ । सम्भावना हुँदा हुँदैपनि खेती प्रणालीमा कमी हुनु नै पानी सुक्नुको मुख्य कारणको रुपमा रहेको उप्रेतीले स्पष्ट पारे ।
‘अहिले जसरी जलवायु परिवर्तनको असर भनेर हल्ला फैलाईएको छ त्यो हैन, उप्रेतीले भने, अहिले देखिएको पानीको समस्या भनेको खेती प्रणालीमा तालमेल नमिल्नु नै हो ।’ पानीको संरक्षणको लागि धान वालीको क्षेत्रफललाई कायम नराख्ने हो भने भोलीका दिनमा थप पानीको समस्या आउन सक्ने उप्रेतीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्