तराईका तीन जिल्लामा डेंगु रोगको संक्रमण उच्च

तराईका तीन जिल्लामा डेंगु रोगको संक्रमण उच्च

महाशाखाका डा विवेककुमार लालका अनुसार डेंगुका कारण गत वर्ष झापासहित तीन जिल्लामा तीन जनाको मृत्यु भएको थियो । समयमा उपचारका लागि नगएका कारण चितवन, रुपन्देही र झापामा डेंगु संक्रमित तीन जनाको मृत्यु भएको उनले बताए ।

डेंगुका कारण झापाको अर्जुनधारा–७ की ३२ वर्षीया सुनिता बरालले ज्यान गुमाएकी थिइन् ।

‘एडिस जातको लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि देखिन सक्छ,’ डा लालले भने, ‘कुनै व्यक्तिलाई कुनै व्यक्तिमा दोस्रो पटक डेंगु देखिन्छ भने त्यो अलि बढी खतरनाक हुन्छ ।’ डा लालले डेंगु संक्रमण उच्च देखिएका जिल्लामा सचेतनामूलक कार्यक्रम शुरु गरिएको बताए ।

डेंगु संक्रमण हुँदा असाध्यै ज्वरो आउने, टाउको र आँखाको गेडी तथा आँखाको पछिल्लो भाग एवं ढाड, हातजोर्नी तथा मांसपेशी दुख्ने, शरीरमा बिमिरा आउने, नाक तथा गिजाबाट रगत आउनेलगायत लक्षण देखिन्छन् ।

नेपालमा विसं २०६१तिर पहिलो पटक चितवनमा विदेशी पर्यटकमा डेंगुको संक्रमण देखिएको थियो । त्यसयता तराई तथा भित्री मधेशका जिल्लामा डेंगुका बिरामी वर्षेनी बढ्दै छन् । विसं २०६७÷०६८ मा चितवन, रुपन्देही, नवलपरासीलगायत जिल्लामा महामारीका रुपमा डेंगु फैलिएको थियो । चितवनमा मात्रै ७३९ जना संक्रमित भेटिएका थिए ।

गत वर्ष झापामा भेटिएका अधिकांश संक्रमित बिर्तामोड क्षेत्रका रहेको जनस्वास्थ्य प्रमुख मधुसूदन कोइरालाले बताए ।

‘डेंगु नियन्त्रणको एक मात्र उपाय भनेको नियमित सरसफाइ मात्रै हो,’ उनले भने, ‘पानी जम्न सक्ने भाँडामा लामखुट्टेले फुल पार्ने भएकाले त्यसमा सबै सचेत हुनुपर्छ ।’

गमला, फूलदानी, टायर, पानीट्यांकी, फ्रिजलगायतमा जमेको सफा पानीमा लामखुट्टेले फुल पार्छ । लाखमुट्टेको फुल नष्ट गर्नका लागि पनि सफा पानी जम्न नदिने र नियमित सफा गर्नुपर्ने महाशाखाले जनाएको छ ।

केही दशकदेखि विश्वभर डेंगु संक्रमण बढ्दै गएको छ । ‘बितेको ५० वर्षमा यसको संक्रमण ३० गुणाले बढेको छ,’ डा लालले भने, ‘विश्वको आधाभन्दा बढी जनसंख्या डेंगुको जोखिममा छ ।’

प्रत्येक वर्ष झण्डै ३९ करोड मानिसमा डेंगुको संक्रमण हुने गर्छ । त्यसमध्ये हरेक वर्ष २० हजार मानिसले ज्यान गुमाइरहेका छन् । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्