लहानका कृषक हरिनारायणको गाईपालनबाट राम्रो आम्दानी

लहानका कृषक हरिनारायणको गाईपालनबाट राम्रो आम्दानी

लहान, वैशाख ३ गते। दुई दशकदेखि उन्नत खेती गरेर आफ्नो पहिचान बनाउँदै आउनुभएका लहान–२ का कृषक हरिनारायण यादव केही वर्षयता गाईपालनमा होमिनुभएको छ । गाईपालनबाट राम्रो आम्दानी भएको उहाँले बताउनुभएको छ ।

कृषिमा बीएस्सी एजी गर्नुभएका उहाँले अध्ययनको विषयलाई नै कर्म क्षेत्र बनाउनु भएको छ । धान,गहुँ र तरकारीखेती गरेर पहिचान बनाउनुभएका यादवले त्यस भेगका कृषकलाई उचित सल्लाह दिएर किसानलाई उत्प्रेरित गरेका कारण किसानको ‘मास्टर’ भनेर पनि चिनिनुहुन्छ। अहिले उहाँले जर्सी, फिरिजन, शाहीवाल उन्नत जातका एक दर्जन गाईपालन गरेर महिनाको पचास हजार रुपियाँभन्दा बढी आम्दानी भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, जुनबेला बीएस्सी एजी गरेँ त्यतिबेला जागिर खाएको भए ठूलै हाकिम हुन्थेँ होला तर जागिर खाने रहर जागेन । माटोसँगै खेल्दै उत्पादन गर्दै यत्रो प्रगति गरेकोमा रमाइलो नै लागिरहेको हरिनारायणले बताउनुभयो । 
तर अहिले खेतीपातीका लागि कृषि मजदुरको अभाव हुन थालेपछि गाईपालतर्फ लागेको उहाँले बताउनुभयो । उहाँका अनुसार गाईपालनबाट राम्रो आम्दानी गर्न सकिने प्रबल सम्भावना रहे पनि बजार व्यवस्थापन, दूधको बिक्रीका लागि बजारको अभाव, दाना सही समयमा उपलब्ध नहुनु, घाँसको उन्नत जातको बीउ पनि समयमा उपलब्ध नहुनु समस्या रहेका छन्।
उहाँले जिल्ला पशुसेवा कार्यालयमा परामर्शका लागि जाँँदा पनि वास्ता नगरेको, सिमेन गराउन जाँदा पनि त्यही समस्या परेको गुनासो गर्नुभयो । दूध डेरीमा दूध बिक्री गर्दा एक महिनामा पनि भुक्तानी नदिनुले समस्या पनि भइरहेको छ । किसानले उत्पादन गरेको दूध लहानका डेरीहरूले नलिने तर दूधको धूलो भारतीय बजारबाट ल्याएर दही उत्पादन गरिरहेकाले अनुगमन गर्ने निकायको डेरी अनुगमन देखाउने हात्तीको दाँतजस्तै भएको अधिकांश कृषकको गुनासो छ ।
दस लाख रुपियाँ लगानी गरेर महिनाको पचास हजार रुपियाँ सजिलै कमाइ गरिन सकिने उहाँको अनुभव छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्