वाम कार्यदलले ल्यायो ६१ खर्बको ऊर्जा विकास कार्ययोजना

वाम कार्यदलले ल्यायो ६१ खर्बको ऊर्जा विकास कार्ययोजना

काठमाडौँ । एमाले उपाध्यक्ष वामदेव गौतम नेतृत्वको वाम कार्यदलले ६१ खर्ब २५ अर्ब ६० करोड बजेटको ऊर्जा विकास कार्ययोजना प्रस्तुत गरेको छ । कार्यदलले ‘जलविद्युत, सौर्य, वायु र जैविक ऊर्जा गरी आउँदो तीन वर्षमा ३ हजार मेगावाट, पाँच वर्षमा ६ हजार मेगावाट र दश वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन हुने गरी ऊर्जा आयोजनाहरूको निर्माण कार्यलाई तीव्रताका साथ अघि बढाउने कार्ययोजना आफ्नो प्रतिवेदनमार्फत् सार्वजनिक गरेको छ ।

गत माघ ७ गते एमाले माओवादी पार्टी एकता संयोजन समितिले एमाले उपाध्यक्ष वामदेव गौतम संयोजकत्वको ७ सदस्यीय कार्यदल बनाएको थियो । सो कार्यदलको मुख्य कार्यभार सरकारका सुशासन र विकासका प्राथमिकता बारे सुझाव दिनु रहेको थियो । कार्यदलले बूढीगण्डकीलगायतका १ हजार मेगावाटभन्दा माथिका जलविद्युत आयोजना स्वदेशी लगानीमा बनाउन भनेको छ र त्यसका लागि करिब २ खर्बको बजेट अनुमान गरेको छ ।

कार्यदलले ‘हाल ३००० मेगावाट जलविद्युत उत्पादन गर्ने आयोजनाहरू निर्माणाधीन रहेकोमा १६ सय ५० मेगावाटको सुनकोशी २ र ३, १२०० मेगावाटको बूढीगण्डकी, ६५० मेगावाटको तल्लो अरुण, ६५० मेगावाटकै तामाकोशी ३, ६४२ मेगावाटको सेती, ३०० मेगावाटको दूधकोशी, ६५० मेगावाटको तमोर, ७०० मेगावाटको खिम्ती शिवालय, ६०० मेगावाटको मोदी कालिगण्डकी, ७५० मेगावाटको पश्चिम सेती, ५०० मेगावाटको नौमुरे र ४०० मेगावाटको नलसिङगाढमध्ये नदी प्रवाहमा आधारित आयोजनाहरू तीनदेखि पाँचवर्षभित्र र जलाशययुक्त आयोजनाहरू पाँचदेखि दश वर्षभित्र सम्पन्न गर्ने गरी अघि बढाउन सरकारलाई सुझाव दिएको छ । साथै कार्यदलले डीपीआर तयार भइसकेका आयोजनाहरू एक महिनाभित्र टेन्डर गर्ने र डीपीआर तयार नभएका आयोजनाहरूको हकमा एक वर्षभित्र डीपीआर सम्पन्न गर्नेगरी टेन्डर गर्न पनि सुझाव दिएको छ ।

यस्तै, कार्यदलले डिजेल पेट्रोल र ग्याँसको आयात घटाउन सवारी साधन र घरमा बिजुलीको प्रयोग बढाउने कार्यक्रम पनि अघि सारेको छ । ‘एक घर एक इन्डक्सन चुल्हो’ र नेपालमा मुख्य सहरहरूमा विद्युतीय सवारी साधान चार्ज गर्नका लागि ६ महिनाभित्र चार्जिङ स्टेसन राख्ने योजना पनि प्रस्तुत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्