विराटनगर, ५ वैशाख
विराटनगर, ५ वैशाख मोरङ जिल्ला अदालतले धरौटी मागेपछि वाणिज्य वैंक बन्दरगाहा शाखाका प्रबन्धक तथा काउण्टर ईन्चार्ज पुर्पक्षको लागि जेल चलान भएका छन् । मोरङ जिल्ला अदालतले तोकेको धरौटी रकम बुझाउन नसकेपछि राष्ट्रिय वाणिज्य बैंक रानी बन्दरगाहा शाखाका प्रबन्धक विष्णुप्रसाद निरौला र काउण्टर ईन्चार्ज तोर्णराज राउत पुर्पक्षको लागि जेल चलान भएका हुन । पैसा नभएको बैंक खाताको अकाउण्ट पेयी चेक दिएर भन्सारबाट सामान क्लीयरिङ गराउन मिलेमतो गरी बैंकलाई ९ करोड ६१ लाख ५५ हजार घोटाला गरेको आरोप लागेको थियो । मोरङ जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद भण्डारी र बोलेन्द्र रुपाखेतीको ईजलाशले बैंकका प्रबन्धक निरौलालाई दुई करोड र बैंकका भन्सार काउण्टर ईन्चार्ज राउतलाई २ करोड ५० लाख धरौटी माग गरेको थियो । अदालतले तोकेको धरौटी बुझाउन नसकेपछि उनीहरु कारागार चलान भएका हुन ।
भन्सार एजेन्ट अझै फरार
अदालतले बैंकका कर्मचारीलाई धरौटी मागेर जेल हालेपनि अहिले सम्म भन्सारमा क्लीयरिङ गरेर पैसा नै नभएको बैंकको चेक दिने भन्सार एजेण्टहरु अहिले पनि फरार छन् । अदालतको उक्त आदेशपछि बैकिङ कसुरका मुख्य अभियुक्त भन्सार एजेन्टहरु सुरेश बोहरा र ललित बोहरा फरार छन् । उनीहरु अदालतले तोकेको म्याद भित्र हाजिर हुन आउने संभावना कमजोर भएको छ । अदालतमा हाजिर भएपनि उनीहरुलाई कर्मचारीको भन्दा बढी धरौटी माग गर्ने सम्भावना छ । एजेन्टद्धयलाई जोगाउनको लागि विराटनगरका केही उद्योगी तथा ब्यापारीहरु अहिले पनि सक्रिय भएको बताईन्छ ।
यसरी भयो घटना
सुरेश क्लियरिङ एण्ड फरवार्डिङ सर्भिस विराटनगरका सञ्चालक बोहराद्वयले विभिन्न कम्पनीका एकाउण्ट पेयी चेक भन्सारबाट राजश्व उठाउने नेपाल सरकारको वैंक खातामा जम्मा गरेका थिए । खातामा पैसा नभएका ती एकाउण्ट पेयी चेकलाई सदर गरेर बैंक ठगी गरेको आरोपमा मोरङ प्रहरीले वाणिज्य बैंकका प्रबन्धक निरौला र काउण्टर ईन्चार्ज राउतलाई गत फागुनको दोश्रो हप्ता पक्राउ गरेको थियो । उनीहलाई तत्काल पक्राउ गरिएको भएपनि घटना बाहिरिए लगत्तै बोहरा दाजुभाई फरार रहेका छन् । बैंक कर्मचारी र भन्सार एजेन्टको मिलेमतोमा आठवटा एकाउण्ट पेयी चेक वाउन्स भएर वाणिज्यवैंकमा भेटिएका थिए । बैकका कर्मचारीले एजेन्टबाट रकम नभएको चेक बुझेका कारण बैंकलाई ९ करोड ६१ लाख ५५ हजार बरावरको नोक्सानी भएको बताईएको छ ।