समयमै काम नगरे ठेकेदारलाई कार्वाही गर्ने विराटनगर महानगरपालिकाको चेतावनी

समयमै काम नगरे ठेकेदारलाई  कार्वाही गर्ने विराटनगर महानगरपालिकाको चेतावनी

विराटनगर, ६ वैशाख । जोगवनीदेखि धरानसम्मको ब्यापारिक राजमार्ग बिस्तार आयोजना (सिक्सलेन) निर्माण सुस्त हुँदा सबैभन्दा बढी विराटनगरवासीले दुःख भोग्दै आएका छन् । निर्माण ब्यवसायीले नियमित काम नगर्दा हिलो र धूलोका कारण नगरवासीले बढी समस्या भोग्नु परेको हो । लामो समयदेखि कामका नाममा अल्मल्लिई रहेका निर्माण ब्यवसायीलाई विराटनगर महानगरपालिकाले चेतावनी दिएको छ ।

मेयर भीम पराजुुलीको नेतृत्वमा बुधबार महानगरका प्राबिधिकले अनुगमन गरेपछि वर्षा अगाडि काम सम्पन्न नगरे कारवाहीमा जाने चेतावनी दिएको थियो । अनुगमनपछि निर्माण ब्यवसायीका प्रतिनिधिसँगको छलफलमा मेयर पराजुलीले कानुन अनुसार अघि बढ्ने चेतावनी दिए ।

‘निर्माणमा कुनैपनि बहाना गरिए अब सम्झौता गरिंदैन’ पराजुलीले भने–‘अझै आलटाल गरे निर्माणकर्तालाई कालो सूचीमा राखेर अधिकारको प्रयोग गर्दै कारवाहीमा जानुपर्ने हुन्छ ।’ रातिको समयमा निर्माण कार्य गर्दा सवारी आवागमनले कामलाई बाधा नपुग्ने उनको सुझाव छ । वर्षाका कारण हुन सक्ने जोखिमबाट जोगिन तत्काल काम सम्पन्न गर्न पराजुलीले ठेकेदारलाई दबाव दिए ।

आयोजनाका प्रमुख इन्जिनीयर विनोदकुमार मौवारले समयका काम नगरे निर्माण ब्यवसायीलाई नछाडिने चेतावनी दिए । काममा भई रहेको ढिलासुस्तीमा महानगरको चासो देखिएकाले निर्माणकर्ता सजग हुनुपर्ने उनको भनाई छ । ‘कतिपय ठाउँमा काम बिग्रिएको देखिएको छ, काममा गुणस्तर कायम गर्न सक्नु पर्छ’ उनले भने–‘धेरै काम भएको छ, सानो कम्जोरी छाडिए सबैमा समस्या आउन सक्छ ।’

महानगरका प्रमुख इन्जिनीयर भरत न्यौपानेले निर्माण ब्यवसायीलाई प्राबिधिक कुरामा सहयोग चाहिए आफूहरु तैयार रहेको बताउंँदै महानगर भित्रका सडक निर्माण छिटो सम्पन्न गर्न आग्रह गरे । जोगवनीदेखि विराटनगरको ढाटसम्मको १२ दशमलव ४ मिटर लामो ६ लेन सडक निर्माण गरिरहेका ५ कम्पनीका प्रतिनिधि छलफलमा सहभागी थिए ।

भूमि कन्ट्रक्सन, आशिष निर्माण सेवा, कान्छाराम निर्माण सेवा लगायतका प्रतिनिधिलाई एकै ठाउँमा बोलाएर महानगरले सहमति गराएको छ । चार दिनभित्रमा महानगर भित्रको ६ लेन सडकको नालामा ढक्कन हाल्न थालिने र सात दिन भित्रमा ह्युम पाइप र कल्भर्टको काम थालिनेमा निर्माण कम्पनीका प्रतिनिधिलाई हस्ताक्षर गराइएको छ । भूमि कन्ट्रक्सनका कृष्ण बोहराले सानो कम्जोरीमा ठूलो आरोप लगाउंने प्रचलनले निर्माणकर्तालाई काममा हौसला नमिलेको बताए । उद्घोष दैनिक 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्