त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबार दिउँसोबाट सुचारु

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबार दिउँसोबाट सुचारु

काठमाडौं । काठमाडौंबाट मलेसियाका लागि उड्न लागेको मालिन्दो एयरलाइन्सको विमान गएराति विमानस्थलमा चिप्लिएर धावनमार्ग छाडेपछि रातिदेखि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबार दिउँसोबाट सुचारु भएको छ ।
चिप्लिएर धावनमार्ग छाडेको जहाजलाई हटाएपछि सुचारु भएको त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए ।

“करिब १४ घण्टापछि विमानस्थल सुचारु भएको छ,” ठाकुरले बाह्रखरीसँग कुरा गर्दै भने,“यो बीचमा सय बढी उडानहरु अवरुद्ध भएका छन् । यदि ती एयरलाइन्सको आग्रह भयो भने हामी चौविसैघण्टा सेवा दिन तयार छौं तर यो विशेष परिस्थितिका लागि मात्रै हो ।”
उनले करिब ५४ वटा जहाज आउने र त्यतिकै संख्यामा जाने सूची अवरुद्ध भएको जानकारी दिए । आन्तरिक उडान भने बिहान ढिला गरी सुरु भएको त्रिभुवन विमानस्थलले जानकारी दिएको छ ।

राति पौने १० बजे मलेसियाको क्वालालम्पुरका लागि उड्न लागेको मालिन्दो एयरको विमान धावनमार्ग छाडेर करिब १५० फिट चौरतर्फ जोतिएको थियो । १० बजेर ७ मिनेट जाँदादेखि विमानस्थल बन्द भएको थियो । चालक दलका सदस्यसहित १३९ जना यात्रु रहेको विमान धावनमार्गबाट चिप्लिएर चौरमा धसिन पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्