झापामा प्रदेशस्तरीय महिला भलिबल हुने

झापामा प्रदेशस्तरीय महिला भलिबल हुने

झापा, वैशाख ७ । झापाको मेचीनगर नगरपालिकास्थित धुलाबारीमा प्रदेश नम्बर–१ स्तरीय महिला भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता वैशाख १० देखि १२ गतेसम्म सञ्चालन हुन लागेको हो ।

धुलाबारी मोडमा आयोजना हुने प्रतियोगितामा झापा, मोरङ, सुनसरी, धनकुटा, संखुवासभा र ताप्लेजुङ गरी ६ टिमको सहभागिता रहने आयोजक समितिका अध्यक्ष गणेशविक्रम नेम्वाङले बताए । भलिबल प्रतियोगिता सञ्चालन गर्नका लागि स्थानीयस्तरको भेलाले नेम्वाङको अध्यक्षतामा आयोजक समिति गठन गरेको थियो ।

राष्ट्रिय खेलको मान्यता पाएको भलिबलको विकास, विस्तार र प्रवर्द्धनका लागि प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिता आयोजना गरिएको अध्यक्ष नेम्वाङले बताए । राउण्ड रोविनका आधारमा लिग कम नकआउटको ढाँचामा प्रतियोगिता सञ्चालन हुनेछ ।

प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुने टोलीलाई क्रमशः २५ हजार, १५ हजार, ७ हजार र ३ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । यसबाहेक ५ वटा विधाका उत्कृष्ट खेलाडीलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्नका लागि ३ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । मुख्य प्रायोजक रहेको मेचीनगर नगरपालिकाले प्रतियोगिताका लागि २ लाख रुपैयाँ दिने भएको छ । आयोजक समितिले आफैं ५० हजार रुपैयाँ जुटाउने र बाँकी ५० हजार रुपैयाँ खेलप्रेमी दाताबाट जुटाइने आयोजक समितिका सचिव लेखनाथ पराजुलीले बताए ।

प्रतियोगितामा जिल्ला भलिबल संघको प्राविधिक सहयोग रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्