कम्युनिस्ट पार्टी स्थापना दिवसः एमाले र माओवादी केन्द्रले संयुक्त रुपमा मनाउँदै

कम्युनिस्ट पार्टी स्थापना दिवसः एमाले र माओवादी केन्द्रले संयुक्त रुपमा मनाउँदै

काठमाडौं, बैशाख ९ । एकीकरणको अन्तिम तयारीमा रहेका दुई कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संयुक्त कार्यक्रम गरी कम्युनिस्ट पार्टी स्थापना दिवस मनाउँदै छन् ।

दुवै पार्टीका शीर्ष नेताहरुले एकीकृत हुने ठोस सन्देश दिन आज संयुक्त कार्यक्रम गर्न लागेका हुन् । सरकारको नेतृत्व गरिरहेको एमाले र माओवादी केन्द्रले आजै एकता गर्ने घोषणा गरेका थिए ।

तर एकतामा करिब सहमत भए पनि केही विषय टुंगो लगाउन बाँकी रहेको भन्दै दुई दलले औपचारिक एकता घोषणा नगरी संयुक्त कार्यक्रमबाट एकताको सन्देश दिन लागेका हुन् ।

पार्टी एकता संयोजन समितिको आयोजनामा राष्ट्रियसभा गृहमा दिउँसो हुने कार्यक्रममा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

शीर्ष नेताहरुले एकतामा भइरहेका प्रयास र प्रगतिबारेसमेत जानकारी दिने बताइएको छ ।

गत असोज १७ गते एकीकृत कम्युनिष्ट पार्टी निर्माणको घोषणासहित चुनावी गठबन्धन हुँदै संघीय संसदमा बहुमत हासिल गरी नयाँ सरकारसमेत बनाइसकेका एमाले र माओवादी केन्द्र एकताबाट पछि हट्न नसक्ने दुबै दलका नेताले पटक÷पटक जनाउँदै आएका छन् ।

स्थिर सरकार, सुशासन र विकासको लक्ष्यसहित निर्वाचनलगत्तै एकता गर्ने प्रतिबद्धता चुनावी घोषणापत्रमा भएको र त्यसलाई कार्यकर्ता र जनताले अनुमोदन गरिसकेकाले यसबाट पछि हट्न नमिल्ने विश्लेषकहरुको बुझाइ छ ।

तर एकता प्रक्रियामा केही विवाद देखिएकाले त्यसको टुंगो लगाउने जिम्मा दुई दलका अध्यक्षलाई दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्