एन्फाको चुनाव वैशाख २२ गते काठमाडौंमा हुने

एन्फाको चुनाव वैशाख २२ गते काठमाडौंमा हुने

काठमाडौं, ८ वैशाख ।   अखिल नेपाल फुटबल संघ एन्फाको चुनाव वैशाख २२ गते शनिबार काठमाडौंमा हुने भएको छ । एन्फाको निर्वाचन समितिले आइतबार चुनावको मिति तोकेको हो । यसअघि चैत १४ गतेका लागि तय भएको चुनाव उच्च अदालतको पाटको आदेशका कारण रोकिएको थियो ।

भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघले दायर गरेको रिटमा चैत १४ लाई तय भएको एन्फाको निर्वाचन तत्काल रोक्न उच्च अदालतका न्यायाधीश राजकुमार वनको इजलासले आदेश दिएको थियो । त्यसपछि भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघको चुनाव गरिएको र मुद्दा पनि फिर्ता भएका कारण निर्वाचन समितिले चुनावको नयाँ मिति तोकेको हो ।

एशियन फुटबल महासंघ एएफसीले चुनाव मिति जतिसक्दो चाँडो तोक्न एन्फालाई यसअघि नै निर्देशन दिएको थियो । एएफसीले एन्फालाई पत्र पठाएर भक्तपुर र मकवानपुरको चुनाव सफलतापूर्वक सम्पन्न भइसकेको अवस्थामा पनि केन्द्रिय चुनावको मिति तोक्न किन ढिलाई गरेको भन्दै प्रश्न समेत गरेको थियो ।

एन्फा चुनाव वरिष्ठ उपाध्यक्ष मणी कुँवर र पूर्व उपाध्यक्ष कर्माछिरिङ शेर्पा पक्षबीच प्रतिस्पर्धा हुँदैछ । कुँवरलाई एन्फा अध्यक्ष नरेन्द्रलाल श्रेष्ठ र पूर्व अध्यक्ष गणेश थापाको समर्थन छ । शेर्पाको पक्षमा ३ उपाध्यक्षसहित पूर्व सिइओ इन्द्रमान तुलाधरलगायतको साथ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्