ट्राफिक प्रहरीले सेनाकी श्रीमतीलाई एसिड खन्याए

ट्राफिक प्रहरीले सेनाकी श्रीमतीलाई एसिड खन्याए

चितवन । चितवनका एक ट्राफिक प्रहरीले एक महिलालाई एसिड प्रहार गरी घाइते बनाएका छन् ।

इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीको ट्राफिक शाखामा कार्यरत प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाँले २८ वर्षकी कल्पना श्रेष्ठमाथि एसिड प्रहार गरेको चितवन प्रहरीले जनाएको छ ।

खनियाँले श्रेष्ठमाथि आइतबार दिउँसो २ बजे भरतपुरको त्रिचोकमा एसिड प्रहार गरेका थिए ।

घाइते महिलाको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरी प्रवक्ता प्रभुप्रसाद ढकालले जानकारी दिए । महिलाको टाउकोबाट एसिड खन्याएकाले उनको घाँटी, गर्दन र गाला जलेको छ । एसिड प्रहार गर्ने खनियाँलाई जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको छ ।

श्रेष्ठका श्रीमान् नेपाली सेनामा कार्यरत रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ५२ वर्षीय खनियाँ लामो समयदेखि एकतर्फी प्रेममा पर्दा आफ्नो कुरा स्वीकार नगरेपछि योजनाबद्ध रुपमा एक महिलालाई एसिड प्रहार गरेर घाइते बनाएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले बताए ।

उनले भने, “निकै लामो समयदेखि प्रयास असफल भएपछि योजनावद्ध रुपमा घटना घटाएको देखिन्छ । के गर्ने रक्षक नै भक्षक भए । अब राष्ट्रसेवक भएकोले थप कडा सजायका लागि सिफारिस गरेका छौँ ।”

पीडित श्रेष्ठ खनियाको घरनजिक डेरामा बस्दै आएकी थिइन् । खनियाको श्रीमती, छोरा र छोरी रहेका छन् । सामान्य चिनजानकै क्रममा खनिया श्रेष्ठसँग नजिक भएका थिए ।

त्यसपश्चात उनले पटक–पटक पीडित श्रेष्ठलाई फोन मार्फत धम्काउँदै आएको चितवन प्रहरीले जनाएको छ ।

घटना घटेलगत्तै खनियालाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख थापाले बताए । रीतपूर्वक जाहेरी आएकोले सोमबार खनियालाई निलम्बन गरी मुद्दा दायर गरिने थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्