सोलुखुम्बुमा छोरीलाई बलात्कार गर्नेदेखि पटके चोरसम्म पक्राउ

सोलुखुम्बुमा छोरीलाई बलात्कार गर्नेदेखि पटके चोरसम्म पक्राउ

सन्तोष राउत/
सोलुखुम्बु, वैशाख १० । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले विभिन्न आपराधिक क्रियाकलापमा संलग्न आठ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

सोलुखुम्बुमा अपराधिक क्रियाकलापका घटना बढ्दै गइरहेका बेला पछिल्लो समय प्रहरीले चोरी, जबरजस्ती करणी र केही सार्वजनिक अपराधमा संलग्न ८ जनालाई पक्राउ गरी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

प्रहरीले २०७४ फागुन १३ गते सल्लेरीको ६ वटा पसलमा आश्चर्यजनक तरिकाले एक साथ चोरी गर्ने र फागुन २४ गते तामाखानीको ज्वालामाई मन्दिरमा सुन तथा नगद भेटी चोरी गर्ने खोटाङ जाल्पाका अनिल श्रेष्ठलाई सार्वजनिक गरेको छ । लामो समयको प्रयासपछि पोखराबाट प्रक्राउ परेका श्रेष्ठ ओखलढुङ्गा, उदयपुर, खोटाङलगायतका क्षेत्रमा दर्ननौँ चोरीमा संलग्न भएको खुलासा भएको छ ।

त्यस्तै, चैत २७ गते सल्लेरीबाट निर्माण सामाग्री चोरीमा संलग्न तिङलाका मुकेश खड्का, अर्जुन खड्का, भलबहादुर विश्वकर्मा र थुलुङ दुधकोशी गाउँपालिका १ नेलेका अर्जुन भूजेललाई पनि सोलु प्रहरीले सार्वजनिक गरेको छ । फरार रहेका एक व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

१४ बर्षको छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ५० बर्षका पितालाई पनि प्रहरीले सार्वजनिक गरेको छ । साहिली छोरीलाई आफ्नै बुबाले ११ बर्षको उमेरदेखि जबरजस्ती करणी गर्दै आएको र पछिल्लो पटक चैत २९ गते छोरीलाई जबरजस्ती गरेको पीडितकी आमाको उजुरीको आधारमा पिडकलाई पक्राउ गरिएको हो ।

छोरीको पेटमा २४ हप्ताको गर्भ रहेको परीक्षणवाट पत्ता लागेको छ । छोरीलाई धम्काउने र तर्साउन प्रयोग गरेको एक थान खुकुरी र डोरीसमेत प्रहरीले बरामद गरी सार्वजनिक गरेको छ ।

वैशाख ४ गते पूर्वी क्षेत्रको बन्द गराउन सोलुखुम्बुका यातायात व्यवसायीलाई दबाब दिएको आरोपमा विप्लब माओवादी सम्बद्ध जिल्ला जनपरिषद प्रमुख विवेक राई र जिल्ला सेक्रेटरी मनिकुमार राईलाई समेत पत्रकार सम्मेलन मार्फत प्रहरीले सार्वजनिक गरेको छ । विभिन्न अपराध अनुसन्धानमा सफल देखिएको सोलुखुम्बु प्रहरीले थुलुङ दुधकोशी गाउँपालिका र सोताङ गाउँपालिकामा स्काभेटरमा भएको आगजनीका बारेमा अनुसन्धान जारी रहेको बताएको छ ।

पत्रकार सम्मेलनमा प्रहरी नायब उपरीक्षक रेशम पराजुलीले जबरजस्ती करणीमा मेलमिलाप हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

महिला विकास अधिकृत रश्मी श्रेष्ठले बालिकामाथि परिवारको सदस्यबाट यौनजन्य हिंसामा पर्ने क्रम बाक्लिएकाले सबैलाई सचेत हुन आग्रह गरिन् । उनले आगामी भदौदेखि लागु हुने गरी पीडकलाई आजन्म कैदको व्यवस्था गरिएको जानकारीसमेत दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्