गुफापोखरीमा वर्षेनी पानीको सतह घट्दै

<span class='c1'>गुफापोखरीमा वर्षेनी पानीको</span> <span class='c2'>सतह घट्दै</span>

प्रकाश धौलाकोटी
तेह्रथुम, बैशाख १४ । पूर्वको चर्चित पर्यटकीय गन्तव्य तीनजुरे मिल्के जलजले क्षेत्रमा रहेको गुफापोखरीमा वर्षेनी पानीको सतह घट्दै गएको छ ।

मुहान सुकेर पानीको अभाव भएपछि पोखरीको अस्तित्व नै संकटमा पर्दै गएको हो । तर पनि पोखरीको संरक्षणका लागि कसैले पनि चासो देखाएका छैनन् ।

जैविक विविधताले भरिपुर्ण गुराँसको राजधानी तीनजुरे, मिल्के जलजले क्षेत्रको गुफापोखरी प्राकृतिक सुन्दरताले भरिपुर्ण छ ।

टिएमजेको सबैभन्दा ठुलो र महत्वपुर्ण पोखरी पनि गुफापोखरी नै हो । पोखरीको छेउमा सानो बस्ती छ ।

गुफा नजिकै रहेको पोखरीको नाम गुफापोखरी र गुफापोखरीको नजिकै रहेको बजारको नाम पनि गुफाबजार राखिएको छ ।

पाँच वर्ष अघिसम्म भरिभराउ हुने गुफा पोखरीमा अहिले पानीको सतह घटेर आधा भागमा बालुवामात्रै देखिन्छ ।

पोखरीमा रहेको पानीको मुहान सुकेको छ भने केही वर्ष यता हिमपात समेत हुन छाडेको छ ।

गुफापोखरी आधारभूत विद्यालयकी शिक्षिका हिमा खनाल जलवायु परिवर्तनका कारण पोखरीमा वर्षेनि निरन्तर पानीको मात्रा घट्दै गएको बताए ।

तेह्रथुम, संखुवासभा र ताप्लेजुङका सीमावर्ती यहाँका डाँडाकाँडामा हिउँ पर्न छाडेपछि गुफापोखरीसँगै यहाँ आसपासका दर्जनौँ पोखरी सुक्न थालेका छन् ।

हिमपात नहुँदा पानी जम्न नपाएकाले पोखरीमा पानीको मात्रा घट्दै गएको स्थानीय बताउँछन् ।

जलवायु परिवर्तन र बढ्दो तापक्रमका कारण तीन हजार मिटर उचाईमा रहेको गुफापोखरीमा अबको पाँच वर्षपछि पानी नै नहुने सम्भावना रहेको वातावरणविद् मौसम खनाल बताए ।

टिएमजे क्षेत्रको मुख्य गन्तव्य बनेको गुफापोखरीमा भरिभराउ पानी बनाएर पर्यटकलाई आकर्षित गर्न स्थानीयबासीहरु लागी परेका छन् । तर पोखरीको संरक्षणका लागि कसैले पनि ध्यान दिएका छैनन् ।

आसपासमा पानीका मुहान सुकेपनि गुफापोखरीको संरक्षणका लागि पोखरीभित्र पसेको बालुवा निकालेर पानी व्यवस्थापन गर्न सके पोखरीको संरक्षण गर्न सकिने वातावरणविद् खनालको भनाइ छ ।

गुफापोखरी र यहाँका डाँडाकाँडाबाट देखिने आकर्षक दृश्यहरुमा लोभिएर वर्षेनि हजारौँ पर्यटकहरु गुफापोखरी पुग्ने गरेका छन् ।

पोखरीको संरक्षण गर्दै आवश्यक पर्यटन पुर्वाधार विकासका लागि सम्बन्धित निकायको ध्यान पुग्नसके गुफापोखरी पुर्वकै आकर्षक पर्यटकीय गन्तव्य बन्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्