वैशाख २२ गते नै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) घोषणा हुने – प्रचण्ड

वैशाख २२ गते नै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) घोषणा हुने – प्रचण्ड

काठमाडौँ, वैशाख १९ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्भवतः कार्लमाक्र्स जन्मेको दिन (मे ५) वैशाख २२ गते नै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) घोषणा हुने बताउनुभएको छ ।

एक सय २९औं अन्तर्राष्ट्रिय मे दिवसमा मङ्गलबार यहाँ विभिन्न आठवटा ट्रेड युनियन संस्थाको संयुक्त आयोजनामा भएको श्रमिक दिवस कार्यक्रममा अध्यक्ष प्रचण्डले वाम गठबन्धन दलमा आवद्ध दुई दल नेकपा (एमाले) र माओवादी केन्द्रबीचको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको स्पष्ट पार्नुभयो ।
“इतिहासले अध्यक्ष केपी शर्मा ओली र मलाई ठूलो अवसर दिएको छ, हामी यो अवसरलाई कुनै हालतमा गुम्न दिने पक्षमा छैनौं” अध्यक्ष प्रचण्डले भन्नुभयो, “२०१९ सालदेखि विभाजित हुँदैआएको नेपाली कम्युनिस्टलाई सम्भवतः २२ गते नै एकताको अन्तिम रूप दिने तयारी गरिरहेका छाँैं । ”
कम्युनिस्ट नेतृत्वको वर्तमान सरकार करिब दुई तिहाइ बहुमतका साथ बनेको सरकार भएकाले मुलुकको आर्थिक समृद्धिमा जुट्न अवसर र चुनौती दुवै रहेको अध्यक्ष प्रचण्डले बताउनुभयो । कम्युनिस्ट नेतृत्वकै सरकारको पालामा मुलुकले आर्थिक समृद्धिमा फड्को मार्ने उहाँको दाबी छ । दक्षिण अफ्रिकाको कम्युनिस्ट व्यवस्थाबाट पनि आफूहरूले धेरै पाठ सिकेको चर्चा गर्दै अध्यक्ष प्रचण्डले कम्युनिस्टहरू अब शासित होइन, शासन गर्ने ठाउँमा पुगेको बताउनुभयो ।
पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालले समाजवादी व्यवस्था आउने आधारका बारेमा चर्चा गर्नुभयो । लोकतन्त्रको अभ्यास गरेर, असमान सन्धि सम्झौतालाई समयानुकूल परिमार्जन गरेर, गरिबी र अशिक्षाको उन्मूलन गरेर मुलुकमा साम्यवादी व्यवस्था आउने उहाँले बताउनुभयो । उहाँले कम्युनिस्ट सरकार श्रमिकहरूकै नेतृत्वमा बनेको सरकार भएकाले अधिकतम श्रमिकको हितमा काम गर्ने बताउनुभयो ।
श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले आउने साउन १ गतेदेखि श्रमिकको पक्षमा देखिनेगरी सरकारले काम गर्न लागेको बताउनुभयो । श्रमिकको ज्याला वृद्धिको गृहकार्य सरकारले गरिरहेको बताउँदै उहाँले साउन १ देखि त्यसको कार्यान्वयन हुने छ भन्नुभयो ।
पेसागत महासङ्घका अध्यक्ष विश्वनाथ प्याकुरेलको अध्यक्षतामा भएको कार्यक्रममा नेता झलनाथ खनाल, योगेन्द्र शाही र प्रा. गोपीरमण उपाध्यायद्वारा लिखित कृतिको विमोचन गरिएको थियो । कार्यक्रममा विश्व ट्रेड युनियन महासङ्घका अध्यक्ष एम.एम. मकाइवा, पेसागत महासङ्घका वरिष्ठ उपाध्यक्ष प्रेमलकुमार खनाल, श्रमिक नेता मोहनमान स्वार, एमाले पोलिटब्युरो सदस्य डा. विजय पौडेललगायतले श्रमिकको हकहितका लागि काम गर्नु जरुरी भएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्