भारी बोकेर मासिक एक लाखभन्दा बढी कमाई गर्ने खोटाङका गुरुङलाई सम्मान

भारी बोकेर मासिक एक लाखभन्दा बढी कमाई गर्ने खोटाङका गुरुङलाई सम्मान

भारी बोकेर मासिक एक लाखभन्दा बढी कमाई गर्ने खोटाङका ७२ वर्षीय गोथे भनिने नरबहादुर गुरुङलाई सम्मान गरिएको छ ।

दिक्तेलबजार तथा आसपासका व्यापारी र स्थानीयवासीको भारी ओसारपसार गरेर अपत्यारिलो कमाई गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका गुरुङलाई १२९ औँ मजदुर दिवसको अवसरमा सम्मान गरिएको हो ।

वृद्घ गुरुङलाई नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) पेशागत महासंघ नेपाल, नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) र एकीकृत अखिल नेपाल शिक्षक संगठनले संयुक्त कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।

प्रदेशसभा सदस्य उषाकला राई, पूर्वसभासद् दुर्गाजयन्ती राई र जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङले संयुक्त रुपमा रु एक हजार नगदसहित नेपाली टोपी ओढाएर उहाँलाई सम्मान गर्नुभयो ।

लामो समयदेखि जिल्लावासीको समान तथा भारी ओसारपसार गरी सेवा दिने गुरुङको श्रमलाई विशेष अवसर पारेर सम्मान गरिएको जिफण्टका जिल्ला सचिव प्रकाश पोखरेलले बताउनुभयो ।

हरेक समय समान ओसारपसारमै व्यस्त देखिने गुरुङ आफ्नो दुई छोरासहित दिक्तेलबजारमै बसोबास गर्दै आएका छन् । श्रीमतीले छोरा र श्रीमान्लाई छाडेर अर्कैसँग पोइल गएपछि दुवै छोरालाई गोथे आफैँले पालनपोषण तथा शिक्षादीक्षा दिइरहेका छन् ।

सोही अवसरमा दिक्तेलबजारमै भारी बोकेर घरपरिवार चलाउँदै आएका राजन श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्