अवैध रुपमा सञ्चालित २ सय बढी यातायात समितिका बैंक खाता रोक्का

अवैध रुपमा सञ्चालित २ सय बढी यातायात समितिका बैंक खाता रोक्का

काठमाडौं, बैशाख २४ । नेपाल राष्ट्र बैंकले अवैध रुपमा सञ्चालित २ सय ४५ वटा यातायात समितिका बैंक खाता रोक्का गरेको छ ।

सरकारले यातायात समितिहरुको सम्पत्ति छानबिन गर्ने घोषणा गरेलगत्तै नेपाल राष्ट्र बैंकले ती समितिहरुको बैंक खाता रोक्का गरेको हो ।

राष्ट्र बैंकले सरकारी निर्देशनअनुसार अवैध रुपमा सञ्चालित यातायात समितिको बैंक खाता रोक्का गरिएको जनाएको छ ।

राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेले अब सरकारकै निर्देशन नआएसम्म ती खाता फुकुवा नहुने बताए ।

नेपाल सरकार, अर्थ मन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन महाशाखाको पत्रअनुसार तोकिएका समितिहरुको खाता रोक्का गर्न निर्देशन आएको राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई पठाएको पत्रमा उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार सातवटै प्रदेशका समितिका खाता रोक्का भएका हुन् ।जसमा प्रदेश १ मा ३५ वटा, २ मा १० वटा, ३ मा १ सय १८ वटा, ४ मा २४ वटा, ५ मा ४० वटा, कर्णालीमा १२ वटा र प्रदेश ७ मा ९ वटा यातायात समिति परेका छन् ।

सरकारले पठाएको पत्रको आशयका आधारमा यो संख्या अझै बढ्न सक्ने राष्ट्र बैंकले जनाएको छ । यी खातामा भएको रकमबारे खुलासा गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्