खोटाङमा एउटै गाउँका तीन बालबालिका नदीमा डुबेर बेपत्ता

खोटाङमा एउटै गाउँका तीन बालबालिका नदीमा डुबेर बेपत्ता

स्थानीय धननारायण श्रेष्ठका १२ वर्षीय छोरा सुमन, जीवन माझीका १० वर्षीय छोरा समिन र ध्रुव माझीका ११ वर्षीया छोरी अनिता माझी गत शनिबार दिउँसोदेखि सुनकोसी नदीमा डुबेर बेपत्ता भएपछि गाउँ शोकमग्न भएको हो ।

विद्यालय जाने बालबालिका शनिबार बिदाको दिन बाख्रा चराउन गएका र नदीमा पौडी खेल्नेक्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए ।

‘मध्याह्न १२ बजेको समयमा नदीमा पौडी खेल्दैगर्दा एक बालक नदीमा डुबेपछि बचाउन खोज्दा अर्को बालक पनि डुबेको र दोस्रो बालकलाई बचाउन खोज्दा तीनैजना बेपत्ता बनेका रहेछन्’–उनले भने–‘उनीहरुको खोजीका लागि चिसापानी इलाका प्रहरी कार्यालयबाट प्रहरी परिचालन गरिएको छ ।’

चार बालबालिका बाख्रा चराउन गएकामा तीनजना बेपत्ता बनेपछि अर्को बालकले घरमा खबर पुर्‍याएको गाउँपालिका प्रमुख शालिकराम बञ्जराले जानकारी दिए ।

बेपत्ता बालबालिकाको स्थानीयवासीले खोजतलास गर्दा नभेटेपछि आइतबार साँझमात्र परिवारले प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थलमा खटिएका प्रहरी र स्थानीयवासीले अहिले नदी किनार र आसपासमा बेपत्ता बालबालिकाको खोजीकार्यलाई तीव्रता दिएका छन् ।

सुनकोसी किनारमा पर्ने जंगलमा बाख्रा चराउन गएका तीन बालबालिका गर्मी भएपछि पौडी खेल्न नदीमा पसेका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्