कानेपोखरीका डम्बर ओझाको दुःखदायी कथा ,थाप्लोमा ऋण, दुवै मृगौला फेल

कानेपोखरीका डम्बर ओझाको दुःखदायी कथा ,थाप्लोमा ऋण, दुवै मृगौला फेल

विराटनर, २४ वैशाख। मोरङको कानेपोखरी ५ जहदाका डम्बर ओझाको दुःख कम छैन । उनको थाप्लोमा १० लाखभन्दा माथि ऋण छ । ऋण तिर्ने इच्छा भएपनि उनी काम गर्न सक्दैनन् । उनको दुवै मृगौला काम नलाग्ने भएको छ ।
मृगौला प्रत्यारोपण गराउने क्षमता छैन, ओझासँग । १ छोरी र १ छोराको बाबु उनी आफ्ना बालबालिकाको भविश्य बनाउन पनि सक्दैनन् । श्रीमतीको इच्छा पूरा गर्नपनि सक्दैनन् । ‘उपचार भए सबैको इच्छा पुरा गर्दिने थिएँ’, उनी भन्छन्, ‘दैवको खेल मान्नै पर्दोरहेछ ।’
ओझाले नियमित डायलसिस गर्न थालेको पनि १ वर्ष भइसक्यो । आइतबार मात्रै गरेको डाइलसिस ५६ औं पटक हो । विराटनगर स्थित नोबेल अस्पतालमा नियमित स्वास्थ्य उपचार सेवा लिइरहेका ओझालाई उनकी आमा धनमाया ओझाले किड्नी दिने भनेकी छिन् । ‘ममीले किड्नी दिन्छु भन्नुभएको थियो, तर, अहिले मलाई कस्ले पाल्छ म किड्नी दिन्न भन्नुहुन्छ,’ ओझाले भने, ‘कसैले किड्नी दिएको खण्डमा ६ लाख रुपैयाँ र दबाइपानी गर्दा ३÷४ लाख थप खर्च हुने डाक्टरको भनाइ छ ।’
अरुको किड्नी किनेर प्रत्यारोपण गराउनका लागि अरुबाटै किन्नुपर्ने अवस्था आए १५ लाखभन्दा माथि खर्च लाग्छ, स्वदेशमा पाइँदैन किड्नी, विदेश जानुपर्छ । जग्गा बेचेर उपचार गराउँ भन्दा पनि धितो र ऋण छ । आफ्नो नाममा जग्गा छैन ।
ओझाका निरन्तर दुःखका दिन
२०३५ सालमा जन्मिएका ओझाले १० कक्षासम्म अध्ययन गरे । २२ वर्षको उमेरमा उनी विदेश (साउदी) बसे । ८ वर्ष साउदीमा बसेका उनले झण्डै १० लाख कमाइ गरे । २÷४ कठ्ठा खेतीको जग्गा किने र घर बनाए । उनले कानेपोखरीमा साइकल दोकान खोले । तर, ०७२ साल जेठमा आफ्नै बुबाले घरमा आफैले आगो लगाएर आत्महत्या गरे । त्यसपछि उनको ओरालो गति सुरु भयो ।
घर बनाउनु प¥यो । जेठो छोरो घरको सबै व्यवहार धान्नुप¥यो । ऋण लगाएर मृत्युवरण गरेका बुबाको ऋण तिर्नुप¥यो । घरमा आगलागी हुँदा २५ लाख बराबरको क्षति भयो । त्यसपछि उनले भएको साइकल दोकान बेचें । त्यसपछि उनले दूध किनबेचको व्यापार सुरु गरे । तर ५÷६ महिनामै उनलाई दूधको व्यापारले डुबायो ।
त्यसपछि फेरि विदेश जान खोजें विदेश जान पनि सकेनन् । अहिले १० लाखभन्दा बढी ऋणमा छन्, उनी । गत वैशाखदेखि किड्नीमा समस्या देखियो । त्यसपछि उनको लगातार खर्च लागिरहेको छ । केही मानिसहरुले सहयोग गरेका पनि छन् । तर, पर्याप्त छैन । एक पटक डायलसिस गर्दा ३ हजारसम्म खर्च लाग्छ । १ वर्षको बीचमा उनले ५ लाखजति खर्च गरिसके ।
मृगौला नै प्रत्यारोपण गर्नुपर्ने डाक्टरको भनाइले उनी विक्षिप्त बनेका छन् । उनलाई सहयोग गर्न चाहनेले मोवाइल नम्बर ९८४२१७६४७१ मा सम्पर्क गरी थप कुरा बुझ्न र बैंक खाता ००८०५०२०२५१९९० नेपाल इन्भेष्टमेन्ट बैकमा सहयोग गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्